सिचाङको जिलोङमा पहिरो प्रभावित ४९९ स्थानीय र मजदुर पुनर्स्थापित, ५५५ पर्यटक सुरक्षित स्थानान्तरण

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रअन्तर्गत जिलोङ काउन्टीमा आएको पहिरोबाट प्रभावित ४९९ स्थानीय बासिन्दा तथा निर्माण मजदुरलाई सुरक्षित रूपमा पुनर्स्थापित गरिएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका सबै ५५५ पर्यटकलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय अधिकारीहरूले बिहीबार जनाएका छन्।
अधिकारीहरूका अनुसार ४९९ गाउँले तथा निर्माण मजदुरलाई आवश्यक व्यवस्था सहित सुरक्षित स्थानमा राखिएको छ। संस्कृति तथा पर्यटनसम्बन्धी निकायहरूको समन्वयमा ५५५ प्रभावित पर्यटकको उद्धार तथा स्थानान्तरण सम्पन्न गरिएको छ र अब कुनै पर्यटक अलपत्र अवस्थामा नरहेको जनाइएको छ।
उद्धार तथा राहत कार्यमा नागरिक उड्डयन निकायसमेत परिचालन गरिएको छ। बिहीबार अपराह्न ३ बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्याइएको छ।
त्यसैगरी २४ टन उद्धार उपकरण, दैनिक उपभोग्य सामग्री तथा औषधि र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ। ती सामग्री आपतकालीन प्रतिकार्य तथा प्रभावित नागरिकको स्थानान्तरणमा प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन्।
जिलोङ काउन्टीस्थित जिलोङ बन्दरगाह क्षेत्रमा बुधबार बिहान पहिरो गएको थियो।
बिहीबार बिहान ८ बजेसम्मको आधिकारिक विवरणअनुसार विपदमा तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। दुई स्थानीय बासिन्दालाई भने जीवितै उद्धार गरिएको छ।
बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
























