भोटेकोशी बाढी : बेपत्ताको खोजी र शव संकलनमा थप १,२०० सैनिक परिचालन, कुल संख्या २,८००

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव संकलनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आएका गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसन थप तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्ने गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी खोजी र शव संकलनको काम तीव्र बनाएको हो।

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि शुक्रबार रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १,२०० सैनिक परिचालन गरिएको छ।
नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा जनशक्तिलाई टोलीगत रूपमा खटाएर खोजी तथा शव संकलनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।
यसअघि प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि सेनाका १,६०० जनशक्ति परिचालन गरिएको थियो। थप १,२०० सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि खटिने नेपाली सेनाको कुल संख्या २,८०० पुगेको छ।
नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद सैनिक टोलीले सम्भावित क्षेत्रमा निरन्तर खोजी गर्दै शव फेला पार्ने र संकलन गर्ने कार्य अघि बढाइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ।





