१७ भाद्र २०८३, बुधबार

नेपालको बाढीपहिरोप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाएका छन्।

सीले चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाकामा आएको गम्भीर बाढीपहिरोबाट ठूलो मानवीय क्षति, मानिस सम्पर्कविहीन हुनुका साथै सम्पत्तिमा समेत क्षति पुगेको उल्लेख गरेका छन्।

उनले चीन सरकार र चिनियाँ जनताका तर्फबाट घटनामा ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा विपद प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

सीले चीनले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको स्थानान्तरण र व्यवस्थापन तथा घाइतेको उपचारलाई तीव्रता दिएको बताए। सम्भावित थप क्षति न्यूनीकरण गर्न दोस्रो चरणका विपद रोकथाममा समेत विशेष ध्यान दिइएको उनले उल्लेख गरेका छन्।

नेपाल र चीन हिमाल तथा नदीले जोडिएका र साझा भविष्य बोकेका छिमेकी मुलुक भएको उल्लेख गर्दै सीले नेपालको उद्धार तथा राहत कार्यमा चीन सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताअनुसार आवश्यक सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्।

उनले दुवै देशका जनताले मिलेर विपदको सामना गर्ने र प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

यसैबीच चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री बालेन शाहलाई समवेदना सन्देश पठाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button