भोटेकोशी बाढीमा सम्पर्कविहीन ११७ विदेशी पर्यटकको उद्धार

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका विभिन्न देशका ११७ विदेशी पर्यटकको उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटलीका दुई जना छन्। देश नखुलेका थप तीन विदेशी पर्यटकको पनि उद्धार गरिएको छ।
बाढीपछि सम्पर्कविहीन रहेका अन्य पर्यटकको खोजी तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनबीच समन्वय भइरहेको ऐरले बताए।
प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको खोजी र उद्धारका लागि ट्रेकिङ कम्पनी, पथप्रदर्शक र सुरक्षा निकायसमेत परिचालित छन्।
नेपाल पर्यटन बोर्डले बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न सम्बन्धित सरकारी निकाय, पर्यटन व्यवसायी र अन्य सरोकारवालासँग समन्वय भइरहेको जनाएको छ। प्राप्त विवरणका आधारमा सम्पर्कमा आएका, उद्धार गरिएका तथा अझै सम्पर्क हुन नसकेका व्यक्तिको विवरण अद्यावधिक गर्ने काम पनि जारी छ।
बोर्डले बाढी प्रभावित पर्यटक तथा उनीहरूका आफन्तलाई आवश्यक जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।





