रसुवा बाढीका मृतकको पोखरामा शव पहिचान र परीक्षण सुरु

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम पोखरामा सुरु भएको छ।
त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका कुल १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। तीमध्ये नवलपुर, गोरखा, धादिङ र तनहुँबाट ल्याइएका ९३ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका छन् भने नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएको छ।
बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तहरू शव पहिचानका लागि अस्पताल पुगिरहेका छन्। आफन्तलाई प्रत्यक्ष शव देखाउनुपर्ने अवस्था कम गर्न स्क्रिनमा शवका तस्बिर देखाएर पहिचान गर्ने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार परीक्षणपछि पहिचान भएका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइनेछ।
कार्कीका अनुसार बाढीले बगाएर ल्याएका धेरै शव हिलाम्मे अवस्थामा रहेकाले सफा गरेपछि मात्रै परीक्षण र पहिचानको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ।
पहिचान हुन नसकेका तथा दाबी गर्न कोही नआएका शवलाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले ठूलो संख्यामा शव पोखरा ल्याइएकाले व्यवस्थापनका लागि अन्य अस्पतालसँग समेत समन्वय भइरहेको बताए। शव पहिचान गरी आफन्तलाई बुझाउने काम सुरु भइसके पनि संख्या धेरै भएकाले प्रक्रिया पूरा गर्न समय लाग्न सक्ने उनको भनाइ छ।
सम्बन्धित जिल्लामा शव राख्ने तथा परीक्षण गर्ने पर्याप्त स्थान र पूर्वाधार नभएपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शव पोखरा ल्याइएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ९३ शवमध्ये नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव ल्याइएका हुन्। तनहुँबाट ल्याइएका थप नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्।





