‘हाम्रा मान्छे कहाँ छन्, अब कहाँ जाने?’ बाढीपीडित परिवारको पीडा

ड्रागन मिडिया सम्वाददाता
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले घरबार गुमाएका र आफन्त बेपत्ता भएका परिवार यतिबेला गहिरो चिन्ता र अनिश्चिततामा छन्। कतै आफन्तको खोजी चलिरहेको छ भने कतै घरबास नै गुमेपछि अब कहाँ जाने र कसरी जीवन शुरु गर्ने भन्ने चिन्ताले प्रभावित परिवारलाई सताएको छ।





बेपत्ता परिवारका सदस्य र आफन्तको खोजी तथा बाढीमा फसेकाको उद्धारबारे जानकारी लिन ठूलो सङ्ख्यामा स्थानीय नुवाकोट सदरमुकाम विदुरस्थित नेपाली सेनाको श्री नं १ सैन्य तालिम केन्द्र पुगिरहेका छन्। उनीहरूले सम्पर्कविहीन आफन्तको नाम र विवरण टिपाउने तथा उद्धार गरिएकाको सूचीमा आफ्ना मान्छे छन् कि छैनन् भनेर जानकारी लिने गरेका छन्।






उद्धार भएर आउने प्रत्येक व्यक्तिसँगै आफ्ना परिवारका सदस्य पनि फर्कने आशामा आफन्तहरू प्रतीक्षारत छन्। तर लामो समयसम्म कुनै खबर नपाउँदा परिवारमा पीडा र बेचैनी बढिरहेको छ।
नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। बाढीले घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विस्थापित परिवारका लागि तत्काल उद्धार र राहतसँगै सुरक्षित बसोबासको व्यवस्था प्रमुख आवश्यकता बनेको छ।





