१७ भाद्र २०८३, बुधबार

चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय बैठकबाट नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय

 

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक ब्यूरोले नेपाल र चीनको सीमाक्षेत्रमा बुधबार गएको विनाशकारी बाढीपहिरोपछि नेपालका प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बेइजिङमा बसेको राजनीतिक ब्यूरोको बैठकले सिचाङ स्वायत्त क्षेत्रको सिगात्से शहरअन्तर्गत केरुङ काउन्टीमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यको समीक्षा गर्दै नेपालतर्फका प्रभावित क्षेत्रमा समेत आपत्कालीन सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैठक शुरु हुनुअघि राष्ट्रपति सीको प्रस्तावमा प्रधानमन्त्री ली छ्याङ, चाओ लची, वाङ हुनिङ, साइ छी, तिङ स्युएस्याङ र ली सीसहित राजनीतिक ब्यूरोका वरिष्ठ नेताहरूले केरुङ विपदमा ज्यान गुमाएकाप्रति मौनधारण गरेका थिए। बैठकले बेपत्ता स्वदेशी तथा विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकता दिँदै वैज्ञानिक उद्धार योजना लागू गर्न, बहुनिकाय समन्वय बलियो बनाउन, सम्भावित दोस्रो विपद रोक्न थुनिएर बनेका ताल तथा आसपासका पहाडी भूभागको स्थिरता निरन्तर निगरानी गर्न र उद्धारमा खटिएका टोलीको सुरक्षालाई विशेष ध्यान दिन निर्देशन दिएको छ।

विपदपछि चिनियाँ नेतृत्वले उच्च तहबाटै राहत तथा उद्धार कार्यको प्रत्यक्ष अनुगमन गरिरहेको छ। राष्ट्रपति सीको निर्देशनपछि प्रधानमन्त्री ली छ्याङ प्रभावित क्षेत्रमा पुगेर पीडित तथा उद्धारमा खटिएका टोलीसँग भेट गर्नुका साथै घटनास्थलमै उद्धार तथा आपत्कालीन व्यवस्थापनको निर्देशन दिएका छन्। चीनका उपप्रधानमन्त्री चाङ कुओछिङ पनि प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यको समन्वयमा खटिएका छन्। सिचाङ स्वायत्त क्षेत्रका निकाय, चिनियाँ आपत्कालीन व्यवस्थापन निकाय, अग्नि तथा उद्धार टोली, चिनियाँ सेना, सशस्त्र प्रहरी र विशेष इञ्जिनियरिङ उद्धार टोलीसमेत परिचालित छन्।

शुक्रबार बिहानसम्म चीनको राष्ट्रिय अग्नि तथा उद्धार संयन्त्रबाट मात्रै ६८१ उद्धारकर्मी र ११३ सवारीसाधन केरुङ क्षेत्रमा परिचालन गरिएको थियो। स्थलमार्ग अवरुद्ध भएका क्षेत्रमा जल, स्थल र हवाई तीनवटै माध्यमबाट उद्धार अभियान सञ्चालन भइरहेको छ। रबर डुङ्गा, पैदल टोली र मानवरहित हवाई उपकरण प्रयोग गरेर बेपत्ताको खोजी भइरहेको छ भने थुनिएका ताल र जोखिमयुक्त पहाडी क्षेत्रको निरन्तर अनुगमन भइरहेको छ।

राजनीतिक ब्यूरोको बैठकले तत्कालीन उद्धारसँगै हिमाली क्षेत्रमा दीर्घकालीन विपद जोखिम व्यवस्थापनमा समेत महत्वपूर्ण निर्णय गरेको छ। बैठकले छिङहाई–सिचाङ पठार क्षेत्रका हिमनदी र हिमतालको व्यापक सर्वेक्षण गर्न, गतिशील अनुगमन तथा पूर्वसूचना प्रणाली सुदृढ बनाउन र हिमनदी, हिमताल, पहिरो तथा नदीजन्य विपद एकअर्कासँग जोडिएर उत्पन्न हुने जोखिम पहिचान गर्ने क्षमता बढाउन निर्देशन दिएको छ। माथिल्लो तथा तल्लो तटीय क्षेत्रबीच जोखिम सूचना, पूर्वसूचना र प्रतिकार्यलाई प्रत्यक्ष रूपमा जोड्ने संयन्त्र बलियो बनाउनसमेत बैठकले जोड दिएको छ।

यससँगै चीनले सीमाक्षेत्रीय विपद व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने नीति अघि सारेको छ। राजनीतिक ब्यूरोले नेपालका प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै सीमापार विपद व्यवस्थापन, उद्धार, जोखिम अनुगमन, पूर्वसूचना र विपद न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न स्पष्ट निर्देशन दिएको छ। नेपाल र चीनको साझा हिमाली तथा नदी प्रणालीमा देखिएको पछिल्लो विपदपछि बेइजिङबाट आएको यो निर्णय दुई देशबीच सीमापार प्राकृतिक विपद पूर्वसूचना र संयुक्त प्रतिकार्य संयन्त्र विकास गर्ने दिशामा महत्वपूर्ण नीतिगत संकेतका रूपमा देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button