चीनमा क्षयरोग अनुसन्धान तथा नवप्रवर्तनका लागि विश्व स्वास्थ्य सङ्गठनको नयाँ सहकार्य केन्द्र स्थापना

ड्रागन मिडिया समाचार कक्ष
क्षयरोग अनुसन्धान, नवप्रवर्तन तथा नियन्त्रणका क्षेत्रमा चीनको अनुभव विश्व समुदायसँग साझा गर्ने उद्देश्यसहित विश्व स्वास्थ्य सङ्गठनको नयाँ वैश्विक सहकार्य केन्द्र शुक्रबार चीनमा स्थापना गरिएको छ।
बेइजिङस्थित चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त केन्द्रले क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, रोग निगरानी, अनुसन्धान र क्षमता विकासमा केन्द्रित भएर काम गर्नेछ।
विश्व स्वास्थ्य सङ्गठनको एचआईभी, क्षयरोग, हेपाटाइटिस तथा यौनजन्य सङ्क्रमण विभागकी निर्देशक टेरेजा कासाएभाले क्षयरोगको भार घटाउन चीनले उल्लेखनीय प्रगति गरेको र विश्वव्यापी क्षयरोग नियन्त्रण प्रयासमा चीनको भूमिका निरन्तर बढिरहेको बताइन्।
विश्व स्वास्थ्य सङ्गठनको ‘विश्व क्षयरोग प्रतिवेदन २०२५’ अनुसार चीनमा सन् २०२४ मा क्षयरोगको संक्रमण दर प्रति एक लाख जनसंख्यामा ४९ मा झरेको थियो। यससँगै चीन मध्यमदेखि न्यून क्षयरोग प्रकोप भएको मुलुकको श्रेणीमा पुगेको छ।
कासाएभाका अनुसार नयाँ केन्द्रले विश्वव्यापी अनुसन्धान, नवप्रवर्तन, प्रविधि आदानप्रदान र क्षमता विकासका लागि महत्त्वपूर्ण मञ्चका रूपमा काम गर्नेछ। वैज्ञानिक उपलब्धिलाई व्यवहारिक समाधानमा रूपान्तरण गर्न पनि यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।
चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गत राष्ट्रिय क्षयरोग रोकथाम तथा नियन्त्रण केन्द्रका प्रमुख चाओ यानलिनका अनुसार नयाँ केन्द्रले पाँच प्रमुख क्षेत्रमा काम गर्नेछ।
यसअन्तर्गत नयाँ निदान प्रविधि, क्षयरोगविरोधी औषधि, खोप तथा डिजिटल स्वास्थ्य उपकरणको विकास, मूल्याङ्कन र प्रवर्द्धन, विश्व स्वास्थ्य सङ्गठनका क्षयरोगसम्बन्धी निर्देशिका तथा मापदण्ड निर्माणमा योगदान, प्रयोगशाला परीक्षण र महामारीसम्बन्धी अनुसन्धानमा अन्तर्राष्ट्रिय तालिम तथा क्षमता विकास, विश्वव्यापी क्षयरोग निगरानी र जोखिम मूल्याङ्कन तथा प्राविधिक आदानप्रदान र संयुक्त अनुसन्धानका लागि बहुपक्षीय मञ्च निर्माण समावेश छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्षयरोग अझै पनि एउटै संक्रामक रोगबाट हुने मृत्युको विश्वकै प्रमुख कारण बनेको छ। सन् २०३० सम्म विश्वव्यापी क्षयरोग महामारी अन्त्य गर्ने लक्ष्यतर्फ अन्तर्राष्ट्रिय समुदाय अघि बढिरहेको समयमा नयाँ केन्द्र स्थापना गरिएको हो।
सन् २०१२ यता चीनमा क्षयरोगको संक्रमण र मृत्युदर दुवै करिब ३० प्रतिशतले घटेको छ भने राष्ट्रिय उपचार सफलता दर ९० प्रतिशतभन्दा माथि कायम रहेको छ।





