१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावित ग्यिरोङ पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ प्रधानमन्त्री ली छ्याङ भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित चीनको दक्षिण पश्चिममा पर्ने सिचाङ स्वशासित क्षेत्रको ग्यिरोङ पुगेका छन्। उनले प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गरेका छन्।

बुधबार बिहान आएको भीषण पहिरो तथा बाढीबाट ग्यिरोङ सीमावर्ती क्षेत्र गम्भीर रूपमा प्रभावित भएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङको निर्देशनमा प्रधानमन्त्री ली बिहीबार दिउँसो प्रभावित क्षेत्रमा पुगेका हुन्।

लीले सम्बन्धित केन्द्रीय विभागका वरिष्ठ अधिकारीहरूको टोलीको नेतृत्व गर्दै विपद प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा आपतकालीन प्रतिकार्यलाई निर्देशन दिएका छन्। उनले नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री लीले उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अन्य जनशक्तिसँग भेटघाट गर्नुका साथै प्रभावित स्थानीय बासिन्दाको अवस्था र राहत व्यवस्थापनबारे जानकारी लिएका छन्।

ग्यिरोङ नेपालको रसुवागढी नाकासँग जोडिएको चीनतर्फको प्रमुख सीमावर्ती व्यापारिक नाका हो। विपदपछि त्यहाँ सडक, सञ्चार र विद्युत पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। सडक अवरुद्ध हुँदा अति प्रभावित क्षेत्रमा उद्धार टोलीलाई पुग्नसमेत कठिनाइ भइरहेको छ।

नेपालतर्फ पनि रसुवा, नुवाकोटसहित त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। सडक, पुल, बजार, विद्यालय, विद्युतगृह तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

चीनले ग्यिरोङ क्षेत्रमा ठूलो संख्यामा उद्धारकर्मी, सैनिक, अग्नि तथा उद्धार टोली, सवारीसाधन, हेलिकोप्टर, ड्रोन र अन्य उपकरण परिचालन गर्दै खोजी तथा राहत कार्यलाई तीव्र बनाएको छ। थप पहिरो तथा बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा निगरानी र पूर्वसतर्कता पनि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button