१७ भाद्र २०८३, बुधबार

केरुङको विपद प्रभावित क्षेत्र पुगे चिनियाँ प्रधानमन्त्री लि छ्याङ, नेपाललाई आपत्कालीन सहायता दिने बेइजिङको निर्णय

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ प्रधानमन्त्री लि छ्याङले सिचाङ स्वायत्त क्षेत्रको सिगात्से शहरअन्तर्गत केरुङ काउन्टीमा विपदबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै खोज, उद्धार तथा आपत्कालीन व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्रपति सी चिनफिङको निर्देशनमा प्रधानमन्त्री लि बिहीबार प्रभावित क्षेत्रमा पुगेका हुन्। सिगात्से विमानस्थल पुगेपछि उनी सीधै केरुङको विपद प्रभावित क्षेत्रमा गई क्षतिको अवस्था, खोज तथा उद्धार कार्य र प्रभावित नागरिकको व्यवस्थापनबारे जानकारी लिएका थिए।

सिन्ह्वाका अनुसार प्रधानमन्त्री लिले घटनास्थलमा परिचालित उद्धारकर्मी तथा सुरक्षाकर्मीसँग भेट गर्दै बेपत्ता व्यक्तिको खोजीमा उपलब्ध सबै साधन र जनशक्ति प्रयोग गर्न निर्देशन दिए। “जीवित भेटिने सम्भावनाको सानो आधार रहेसम्म पनि अधिकतम प्रयास गर्नुपर्छ” भन्दै उनले खोज तथा उद्धार कार्यलाई वैज्ञानिक योजनाका आधारमा सञ्चालन गर्न जोड दिएका छन्।

उनले बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, सञ्चार र विद्युत पूर्वाधार तत्काल मर्मत गरी उद्धार मार्ग सञ्चालनमा ल्याउन पनि निर्देशन दिए। उद्धारमा खटिएका जनशक्तिको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री लिले प्रभावित नागरिकलाई राखिएको अस्थायी आश्रयस्थल पुगेर उनीहरूसँग भेट गरेका थिए। उनले राष्ट्रपति सी चिनफिङको तर्फबाट प्रभावित नागरिकप्रति सहानुभूति तथा सान्त्वना व्यक्त गर्दै खाद्यान्न, आवास, कपडा तथा अन्य आधारभूत राहत सामग्रीको पर्याप्त व्यवस्था गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए।

केरुङमा स्थापना गरिएको अग्रभागीय विपद उद्धार कमाण्ड केन्द्रमा आयोजित बैठकमा प्रधानमन्त्री लिले सिचाङ प्रशासन तथा उद्धारमा संलग्न निकायबाट घटनाको विस्तृत जानकारी लिएका थिए। उनले बेपत्ता व्यक्तिको वास्तविक संख्या यकिन गर्न, उद्धार टोली र उपकरणलाई एकीकृत रूपमा परिचालन गर्न तथा घटनासम्बन्धी सूचना सार्वजनिक गर्दा पारदर्शिता कायम गर्न निर्देशन दिएका छन्।

यसैगरी मृतक तथा बेपत्ताका परिवारलाई आवश्यक राहत, मनोसामाजिक सहायता र अन्य सहयोग उपलब्ध गराउन, प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जोखिम नियन्त्रण गर्न र थप विपदको सम्भावनालाई ध्यानमा राखेर मौसम, जलविज्ञान तथा भूगर्भीय अवस्थाको निरन्तर अनुगमन गर्न उनले निर्देशन दिए।

केरुङ क्षेत्रमा उद्धार कार्य भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले शुक्रबार बेइजिङमा उच्चस्तरीय बैठक गरी विपदपछिको उद्धार तथा आपत्कालीन व्यवस्थापनबारे विशेष समीक्षा गरेको छ। राष्ट्रपति एवं पार्टी महासचिव सी चिनफिङको अध्यक्षतामा बसेको बैठकको शुरुवातमा केरुङ विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीस्वरूप चिनियाँ शीर्ष नेताहरूले मौनधारण गरेका थिए।

बैठकले केरुङको विपद उच्च हिमाली तथा अत्यधिक चिसो क्षेत्रमा भएको र आसपासमा हिमनदी, हिमताल, अस्थिर पहाडी भूभाग तथा सम्भावित भूगर्भीय जोखिम कायम रहेकाले उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ।

राजनीतिक ब्युरोले बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजीका लागि वैज्ञानिक उद्धार योजना बनाउन, बहुनिकाय समन्वय बढाउन तथा विशेष गरी पहिरोका कारण बनेका सम्भावित ताल र आसपासका पहाडी भूभागको स्थिरता निरन्तर निगरानी गर्न निर्देशन दिएको छ।

बैठकले नेपालतर्फका विपद प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने र नेपालसँग अन्तर्राष्ट्रिय खोज तथा उद्धार सहकार्य अघि बढाउने निर्णयसमेत गरेको छ। यससँगै चीनको सर्वोच्च राजनीतिक तहबाट नेपाललाई सहायता उपलब्ध गराउने औपचारिक निर्णय भएको हो। यद्यपि उपलब्ध गराइने सहयोगको रकम, राहत सामग्रीको परिमाण वा सहायता कार्यान्वयनको विस्तृत स्वरूप भने अझै सार्वजनिक गरिएको छैन।

चिनियाँ राजनीतिक ब्युरोले भविष्यमा यस्ता सीमापार विपदको जोखिम घटाउन छिङहाई तिब्बत पठार क्षेत्रमा रहेका हिमनदी र हिमतालको विस्तृत अध्ययन अघि बढाउन तथा माथिल्लो र तल्लो तटीय क्षेत्रमा संयुक्त जोखिम अनुगमन र पूर्वसूचना प्रणाली सुदृढ गर्न पनि निर्देशन दिएको छ। सीमाक्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई संस्थागत रूपमा बलियो बनाउने विषयसमेत बैठकले उठाएको छ।

यसअघि चिनियाँ विदेश मन्त्रालयले नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको तथा नेपालको आवश्यकताअनुसार चीनले आपत्कालीन सहायता उपलब्ध गराउने जनाएको थियो। शुक्रबारको राजनीतिक ब्युरो बैठकले त्यसलाई थप औपचारिक तथा उच्च राजनीतिक निर्णयको स्तरमा पुर्‍याएको छ।

यसैबीच राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाउँदै नेपालमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले चीन र नेपाल पहाड तथा नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै विपद सामना गर्न नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सोही दिन चिनियाँ प्रधानमन्त्री लि छ्याङले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएका छन्।

नेपालको रसुवास्थित भोटेकोशी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढी तथा पहिरोले रसुवा हुँदै तल्लो तटीय नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपाल सरकारका अनुसार खोज, उद्धार तथा राहत कार्य निरन्तर जारी छ। घटनाले नेपाल र चीन दुवैतर्फको सीमाक्षेत्र प्रभावित गरेपछि दुवै देशले सीमापार विपद जोखिम, पूर्वसूचना प्रणाली र आपत्कालीन समन्वयलाई दीर्घकालीन रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता अझ स्पष्ट भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button