१७ भाद्र २०८३, बुधबार

अमेरिकाले रसुवा बाढी पीडितका लागि आपत्कालीन राहतको पहिलो खेप पठायो

ड्रागन मिडिया सम्वाददाता

अमेरिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल सरकारले अनुरोध गरेका आपत्कालीन राहत सामग्रीको पहिलो खेप पठाएको छ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले शुक्रबार बाढी प्रभावित नेपालीका लागि अमेरिकाबाट उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेका हुन्।

अमेरिकी दूतावासका अनुसार क्याथोलिक रिलिफ सर्भिसेजले आफ्नो कार्यान्वयन साझेदार कारितास नेपालमार्फत राहत सामग्री रसुवाका दुई विद्यालयमा पुर्‍याउनेछ। ती विद्यालयलाई बाढी प्रभावित नागरिकका लागि राहत वितरण तथा अस्थायी आश्रय केन्द्रका रूपमा प्रयोग गरिनेछ।

पहिलो खेपमा २.५ मेट्रिक टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल र अस्थायी आश्रयस्थलको भुइँमा प्रयोग गर्न ५०० थान तापरोधक फोमका पाता रहेका छन्।

अमेरिकाले नेपाल सरकारबाट पहिचान गरिएका आवश्यकताका आधारमा राहत सामग्री उपलब्ध गराइरहेको जनाएको छ। सहायता वास्तविक आवश्यकता भएका प्रभावित नागरिकसम्म पुर्‍याउने उद्देश्यले अमेरिकी दूतावासले नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिसेज र कारितास नेपालसँग निकट समन्वय गरिरहेको छ।

दूतावासका अनुसार पहिलो खेपपछि पनि राहत सामग्री पठाउने क्रम जारी रहनेछ। आगामी खेपमा के कस्ता सामग्री उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारले पहिचान गर्ने तत्कालीन आवश्यकता र प्रभावित क्षेत्रको अवस्थाका आधारमा निर्धारण गरिनेछ।

यसअघि अमेरिकाले रसुवा बाढी प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त सहयोग क्याथोलिक रिलिफ सर्भिसेजमार्फत आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराउन प्रयोग गरिने अमेरिकी दूतावासले जनाएको थियो।

अमेरिकी विदेश मन्त्रालयले विपद प्रतिकार्यमा सहयोग गर्न एक विपद प्रतिकार्य सल्लाहकारसमेत परिचालन गर्ने जनाएको छ।

रसुवामा आएको भीषण बाढीले मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि अन्तर्राष्ट्रिय साझेदारहरूले नेपाल सरकारसँग समन्वय गरी राहत तथा आपत्कालीन सहायता उपलब्ध गराउन शुरु गरेका छन्। चीनले समेत उच्च राजनीतिक तहबाट नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ।

नेपाल सरकारले हाल खोज, उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको अस्थायी आवास तथा खाद्यान्न र अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button