१७ भाद्र २०८३, बुधबार

बाढी प्रभावित क्षेत्रमा १५,४३१ सुरक्षाकर्मी परिचालन, हालसम्म ४,४५१ जनाको उद्धार

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको बताएका छन्।

शुक्रबार रक्षाबन्धनका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत विपद प्रतिकार्यको पछिल्लो अवस्था सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना प्रभावित क्षेत्रमा परिचालित रहेको जानकारी दिएका हुन्।

उद्धार गरिएकामध्ये जलविद्युत सुरुङमा फसेका १९१ जना तथा शुक्रबार हवाई उद्धारमार्फत निकालिएका ५१७ जना रहेका छन्। नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको र हालसम्म ९९ उडान सम्पन्न भएको प्रधानमन्त्रीले बताएका छन्।

प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत छ उडान गरी थप सामग्री पुर्‍याइएको छ। सञ्चार अवरुद्ध भएका क्षेत्रमा आवश्यक सञ्चार सेटसमेत पठाइएको छ।

अपर त्रिशूली जलविद्युत आयोजना, रसुवागढी जलविद्युत केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङमा फसेका नागरिक र कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसका लागि विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ।

बेपत्ता नागरिक तथा शवको खोजी रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। विदेशी नागरिकको खोज, उद्धार र पहिचानका लागि समेत विशेष संयन्त्र परिचालन गरिएको छ। हालसम्म १२९ विदेशी पर्यटक तथा नागरिकको उद्धार वा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले दूतावास तथा परिवारसँग समन्वय गर्न आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेको छ।

प्रधानमन्त्री शाहले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको स्पष्ट पारेका छन्। भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक उद्धार उपकरण, राहत सामग्री तथा सहयोगबारे निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिमको निरन्तर निगरानी भइरहेको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको र दुई लाखभन्दा बढी एसएमएस चेतावनी पठाइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

सडक सम्पर्क पुनःस्थापनामा पनि प्रगति भएको सरकारले जनाएको छ। काठमाडौं–मुग्लिङ सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ भने काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सञ्चालनमा आएको छ।

क्षतिग्रस्त पुलको विकल्प खोल्ने काम पनि शुरु भएको छ। नियमित सडक सम्पर्क पुनःस्थापनाका लागि भारत र चीनसँग ४८ मिटर लम्बाइका १० वटा बेली ब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन र सरसफाइ व्यवस्थापनका लागि नुवाकोटमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका चार वटा पानी ट्याङ्कर परिचालन गरिएको छ भने ९०० केजी ब्लिचिङ पाउडर पठाइएको छ। नुवाकोटमा ४१ हजार लिटर डिजल, २४ हजार लिटर पेट्रोल र थप १७ हजार लिटर हवाई इन्धन व्यवस्थापन गरिएको छ।

सडक, पुल, विद्युत, खानेपानी, दूरसञ्चार, जलविद्युत तथा अन्य संरचनाको विस्तृत क्षति मूल्याङ्कनका लागि क्षेत्रगत समूह र १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।

स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय बनाइएको छ। छ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ भने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट स्वास्थ्य टोली परिचालन गरिएको छ। कम्तीमा पाँच हजार नागरिकलाई लक्षित गरी टेन्ट, औषधि तथा आपत्कालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ।

दूरसञ्चारतर्फ प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा पुनः सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा आएका छन्। नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत सेवा पुनःस्थापना भएको र धुन्चेमा पनि सेवा सञ्चालनको काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

सडक तथा पुल अवरुद्ध भएका बस्तीमा आवतजावत सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ। जोखिममा रहेका परिवारका लागि आपत्कालीन आश्रयस्थल पहिचान र सुरक्षित स्थानमा स्थानान्तरणको काम पनि भइरहेको छ।

सरकारले बाढी तथा विपदबाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत तथा उद्धार व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी संकलन भएको प्रधानमन्त्रीले बताएका छन्।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायलाई लक्षित गरी राहत, पुनःस्थापना तथा व्यवसाय पुनरुत्थान प्याकेज तयार भइरहेको छ। प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

प्रधानमन्त्री शाहले रक्षाबन्धनका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यको कामना गर्दै विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्।

“उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,” उनले भनेका छन्।

प्रधानमन्त्रीले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमा केन्द्रित रहेको र मैदानको वास्तविक अवस्थाका आधारमा निर्णय गर्दै उपलब्ध स्रोतसाधन परिचालन भइरहेको बताएका छन्।

उनले ‘रोड टु यूएफसी’ मा जित हासिल गर्दै फाइनल प्रवेश गरेका नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटलाई समेत बधाई दिँदै नेपालको विपद अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा धन्यवाद व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button