१७ भाद्र २०८३, बुधबार

धादिङमा बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेको आरोपमा २९ जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

धादिङमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेर नगद बाँडफाँट गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले पनि घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र नगद बरामद भएको पुष्टि गरेका छन्। प्रहरीले घटनाको विस्तृत विवरणसहित औपचारिक सूचना जारी गर्ने तयारी गरिरहेको जनाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले टिमुरे तथा आसपास रहेका विभिन्न बैंकका शाखा, नगद, कागजात, सुनचाँदी तथा सेफसमेत बगाएको थियो। त्यसमध्ये एउटा सेफ धादिङको गल्छी क्षेत्रमा फेला परेको र त्यसलाई फोडेर रकम बाँडिएको आरोपपछि सुरक्षा निकायले अनुसन्धान अघि बढाएको हो।

धादिङ क्षेत्र नम्बर १ की संसद सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत बैंकको सेफ फोडेर रकम बाँडिएको विषय लगातार उठाउँदै आएकी थिइन्। उनले घटनामा स्थानीय व्यक्तिहरू संलग्न रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई समेत जानकारी गराएकी थिइन्।

प्रहरीले पक्राउ परेका व्यक्तिको भूमिका, बरामद रकमको स्रोत, सेफ कुन बैंकको थियो र त्यसमा कति रकम वा अन्य सम्पत्ति थियो भन्ने विषयमा अनुसन्धान जारी राखेको छ। घटनामा संलग्न अन्य व्यक्ति भए उनीहरूको पनि खोजी भइरहेको जनाइएको छ।

बाढीले बैंकका शाखासहित नगद तथा बहुमूल्य सामग्री बगाएपछि प्रभावित क्षेत्रमा बैंकिङ सम्पत्तिको सुरक्षा, अभिलेखीकरण र बरामद सामग्रीको कानुनी व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button