सिचुआनको बाटाङमा सांस्कृतिक पर्यटन कला महोत्सव शुरु

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचुआन प्रान्तअन्तर्गत गान्जी तिब्बती स्वायत्त प्रिफेक्चरको बाटाङ काउन्टीमा परम्परागत लोककला, सांस्कृतिक सम्पदा र पर्यटनलाई जोड्ने सांस्कृतिक पर्यटन कला महोत्सव शुरु भएको छ।
अगस्ट २२ मा शुरु भएको महोत्सवमा बाटाङका १७ वटा नगर तथा गाउँ क्षेत्रबाट आएका एक हजारभन्दा बढी किसान तथा पशुपालक परम्परागत पोशाकमा सजिएर नगर परिक्रमा गरेका थिए। उनीहरूले तारवाद्यको धुनमा प्रस्तुत गरिने परम्परागत ‘बाटाङ स्येन्ची’ लोकगीत तथा नृत्य प्रदर्शन गरेका थिए। आयोजकका अनुसार कार्यक्रममा स्थानीय बासिन्दा र पर्यटक गरी करिब १० हजार मानिस सहभागी भएका थिए।


नगरका मुख्य सडक हुँदै निकालिएको सांस्कृतिक झाँकीमा महिलाले आकर्षक रङ्गीन लामो बाहुला फहराउँदै नृत्य प्रस्तुत गरेका थिए भने पुरुष कलाकारले परम्परागत पोशाकमा तारवाद्य बजाउँदै साथ दिएका थिए। विभिन्न पुस्ताका कलाकार तथा सांस्कृतिक परम्पराका उत्तराधिकारीले एउटै मञ्चमा प्रस्तुति दिँदा बाटाङको पुरानो लोकसंस्कृति र आधुनिक सिर्जनात्मक प्रस्तुति एकसाथ देखिएको थियो।
महोत्सवअन्तर्गत परम्परागत लोकनृत्य, गीतसङ्गीत, अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शन, आधुनिक शैलीमा रूपान्तरण गरिएका सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ। स्थानीय सांस्कृतिक तथा पर्यटन अधिकारीहरूले परम्परागत सम्पदालाई केवल प्रदर्शनमा सीमित नराखी नयाँ पुस्ताको सहभागिता, पर्यटन प्रवर्द्धन र स्थानीय आयआर्जनसँग जोड्ने उद्देश्य रहेको बताएका छन्।


बाटाङ विशेषगरी ‘बाटाङ स्येन्ची’ लोकगीत तथा नृत्यका लागि प्रसिद्ध छ। तारवाद्यको धुनसँग गीत र सामूहिक नृत्य संयोजन गरिने यस परम्पराको इतिहास एक हजार वर्षभन्दा पुरानो मानिन्छ। चीनको संस्कृति मन्त्रालयले सन् २००० मा बाटाङलाई “चिनियाँ लोककला स्येन्चीको गृहभूमि” का रूपमा मान्यता दिएको थियो।
पछिल्ला वर्षमा बाटाङले सांस्कृतिक सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोड्ने नीति अघि बढाएको छ। स्थानीय सरकारले परम्परागत स्येन्ची, तिब्बती नाटक, स्थानीय खानपान, ऐतिहासिक सम्पदा र प्राकृतिक पर्यटन क्षेत्रलाई समेटेर वर्षभरि विभिन्न सांस्कृतिक तथा पर्यटन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस वर्षको सांस्कृतिक पर्यटन कला महोत्सवमा पुराना कलाकारदेखि युवा पुस्तासम्मलाई प्रत्यक्ष सहभागी गराइएको छ। आयोजकहरूले परम्परागत कलाको जीवित संरक्षण, सांस्कृतिक पहिचानको पुस्तान्तरण र पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेका छन्।
स्थानीय विवरणअनुसार जुलाईयता बाटाङमा पर्यटन गतिविधि उल्लेख्य रूपमा बढेको छ। हालसम्म काउन्टीमा नौ लाखभन्दा बढी पर्यटक पुगेका छन् भने पर्यटनबाट १.५ अर्ब युआनभन्दा बढी खर्च तथा कारोवार भएको जनाइएको छ। महोत्सवका क्रममा आगामी दिनमा मौलिक गीतनृत्य, स्येन्ची प्रतियोगिता, आधुनिक सङ्गीतसँग परम्परागत तारवाद्यको संयोजन तथा स्थानीय उत्पादन र खानाका प्रदर्शनीसमेत आयोजना गरिनेछन्।





