१७ भाद्र २०८३, बुधबार

विपद्को समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई सिटौलाको आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विपद्को समयमा यात्रुसँग तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा चालकलाई आग्रह गरेका छन्।

पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले अहिलेको कठिन परिस्थितिमा बढी भाडा लिनुको सट्टा सकेसम्म केही कम भाडा लिएर पीडित यात्रुलाई सहयोग गर्न आग्रह गरे।

भारी वर्षा, बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध तथा जोखिमपूर्ण बनेको उल्लेख गर्दै उनले स्थानीय प्रशासन, विपद व्यवस्थापन निकाय र मौसमविद्ले जारी गरेका सूचना तथा निर्देशन अक्षरशः पालना गरेर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने बताए।

प्रशासनसँग आवश्यक समन्वय नगरी जोखिम मोलेर जबर्जस्ती सवारी साधन सञ्चालन नगर्न आग्रह गर्दै उनले अहिले यात्रुको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सबै यातायात संघ, संस्था तथा कम्पनीलाई आग्रह गरे।

रसुवासहित विभिन्न क्षेत्रमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै सिटौलाले प्रभावित नागरिकको खोज, उद्धार र राहतका लागि यातायात क्षेत्रले आफ्नो क्षमताअनुसार रकम तथा स्रोतसाधन परिचालन गर्नुपर्ने बताए।

उनले बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा यात्रु, चालक, सहचालक तथा सवारी साधन सम्पर्कविहीन रहेको जानकारी प्राप्त भइरहेको भन्दै उनीहरूको खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे।

सिटौलाले रसुवा, त्रिशूलीलगायतका प्रभावित क्षेत्रमा ठूलो संख्यामा सवारी साधनको अवस्थाबारे यकिन विवरण प्राप्त हुन बाँकी रहेको बताए। उनले देशभर रहेका सवारी साधन, यात्रु, चालक तथा सहचालकको विवरण संकलन गरी महासंघको केन्द्रीय कार्यालयमा पठाउन प्रदेश तथा जिल्ला तहका संरचनालाई निर्देशनसमेत दिएका छन्।

उनले भने, ‘यो विषम परिस्थितिमा सबै सवारी साधन आआफ्नो ठाउँमा सुरक्षित रूपमा राखेर प्रशासन, विपद व्यवस्थापन निकाय र मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गरेर मात्रै सवारी चलाउनुहोला। जबर्जस्ती ढंगबाट कसैले पनि सवारी नचलाइदिनुहोला।’

उनले अहिले आलोचना र टीकाटिप्पणीभन्दा पनि उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने समय रहेको बताए। सरकारले चालक, सहचालक, यात्रु तथा सवारी साधनको अवस्थाबारे युद्धस्तरमा खोजतलास गरी यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

‘यो विपद्को घडीमा कुनै पनि चालक वा व्यवसायीले तोकिएको भाडाभन्दा एक रुपैयाँ पनि बढी नलिनुस्। बरु केही रुपैयाँ कम गरेर पीडित यात्रुको उद्धार र सहयोगमा लागिदिनुस्,’ सिटौलाले आग्रह गरे।

पोखरेली ट्याक्सी सेवा प्रालिले बाढीपीडितको सहयोगका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा उनले धन्यवाद दिए। यातायात क्षेत्र स्वयं ठूलो क्षतिबाट प्रभावित भए पनि विपद्को सामना गर्न सरकार र प्रभावित नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको सिटौलाले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button