माथिल्लो त्रिशूली ‘३ ए’ को सुरुङ फेला, फसेकाहरूको उद्धार प्रयास तीव्र

ड्रागन मिडिया सम्वाददाता
नुवाकोटस्थित माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहँदा सुरुङको मुख फेला परेको छ।
उद्धारस्थलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका संसद सदस्य श्रीराम न्यौपानेले सुरुङ फेला परेको जानकारी दिएका हुन्। यसअघि उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई अक्सिजन उपलब्ध गराउने उद्देश्यले बाहिरबाट अक्सिजन पठाउन शुरु गरेको थियो।
सुरुङको पहुँचमार्ग बाढीले ल्याएको माटो, ढुंगा र गेग्रानले पुरिएपछि उद्धार टोलीले उत्खनन गर्दै सुरुङसम्म पुग्ने प्रयास गरिरहेको थियो। सुरुङको मुख पहिचान भएसँगै भित्र फसेका मानिससम्म पुग्ने उद्धार प्रयासले महत्त्वपूर्ण चरण पार गरेको छ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले एक्साभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याएको छ। सडकमार्गबाट आयोजनास्थलसम्म भारी उपकरण लैजान कठिन भएपछि ती उपकरणलाई बट्टारमा खण्डखण्डमा छुट्याएर हेलिकप्टरमार्फत आयोजनास्थल पुर्याउने व्यवस्था गरिएको छ।
आयोजनास्थलमा नेपाली सेनासहितको संयुक्त उद्धार टोली परिचालित छ। टोलीले सुरुङको प्रवेश क्षेत्र खुलाउने, भित्र अक्सिजन पुर्याउने र फसेका मानिससम्म सुरक्षित रूपमा पुग्ने प्रयासलाई प्राथमिकता दिएको छ।
गएराति पनि भीषण बाढी आएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको थियो। नदीको बहाव बढ्नुका साथै उत्खनन भइरहेको क्षेत्रमा पुनः पानी तथा गेग्रान प्रवेश गरे पनि उद्धार कार्य रोकिएको छैन।
प्रतिकूल मौसम, बढ्दो नदीको बहाव र बाढीले क्षतिग्रस्त बनाएको पहुँचमार्गका कारण उद्धारमा कठिनाइ भइरहेको अवस्थामा सुरुङको मुख फेला पर्नुलाई उद्धार अभियानको महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
उद्धार टोलीले सुरुङभित्र फसेका मानिससम्म जतिसक्दो छिटो पुग्ने उद्देश्यले उत्खनन तथा प्रवेशमार्ग खुलाउने काम निरन्तर अघि बढाइरहेको छ।





