शव व्यवस्थापनबारे सुझाव दिएका सचिव निरौला भोलिपल्टै रसुवाको टिमुरे काजमा

ड्रागन मिडिया सम्वाददाता
बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनबारे आफ्नो विगतको प्रशासनिक अनुभवसहित सुझाव सार्वजनिक गरेका कोशी प्रदेश सरकारका सचिव कोशहरि निरौलालाई त्यसको भोलिपल्टै सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिएर काजमा खटाएको छ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्ने गरी खटाइएको हो।
मन्त्रालयको निर्णयअनुसार निरौलाले जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनसम्बन्धी काम गर्नेछन्। अर्को व्यवस्था नभएसम्म उनको तलब तथा भत्ता भने कोशी प्रदेश सरकारबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ।
भोटेकोशी र त्यसपछि त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि विभिन्न जिल्लाबाट शव संकलन भइरहेका छन्। ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेको अवस्थामा पहिचान नखुलेका शवको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला निरौलाले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सुझाव सार्वजनिक गरेका थिए।
कोभिड १९ महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारी रहेका निरौलाले त्यतिबेला मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्दा भोगेका प्रशासनिक अनुभव स्मरण गर्दै अहिले पनि मृतकको पहिचान, परिवारको भावना, धर्म, संस्कार र सम्मानजनक अन्तिम संस्कारलाई ध्यान दिनुपर्ने बताएका थिए।
बेपत्ता व्यक्तिका परिवार अझै आफ्ना आफन्त जीवित वा मृत अवस्थामा फेला पर्ने आशामा खोजिरहेका बेला पहिचानको पर्याप्त प्रक्रिया पूरा नगरी शव व्यवस्थापन गर्न हतार गर्न नहुने उनको सुझाव थियो।
तर सामाजिक सञ्जालमा उक्त धारणा सार्वजनिक गरेको २४ घण्टा नबित्दै उनलाई शव व्यवस्थापनकै जिम्मेवारी दिएर रसुवा पठाउने निर्णय भएको हो।
काजमा खटाइएको जानकारी पाएपछि निरौलाले आफूले सरकारको आलोचना गर्ने उद्देश्यले नभई कोभिड महामारीका समयमा मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा प्राप्त अनुभव मात्र साझा गरेको बताएका छन्।
उनले आफूलाई टिमुरे खटाइएको जानकारी प्राप्त भएको तर त्यसको कारणबारे आफू स्पष्ट नभएको प्रतिक्रिया दिएका छन्। निरौलाले पछि आफ्नो फेसबुक स्टाटससमेत हटाएका छन्।
यसैबीच कोभिड महामारीका समयमा विराटनगर महानगरपालिकाका प्रमुख रहेका तथा कोशी प्रदेशका पूर्वमन्त्री भीम पराजुलीले निरौलालाई खटाइएको विषयलाई आलोचनात्मक रूपमा लिएका छन्।
पराजुलीले विपद्को समयमा राज्यले अनुभवी कर्मचारीबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा लिएर व्यवस्थापन सुधार गर्नुपर्ने बताए। मृतकले आफ्नो धर्म र संस्कारअनुसार अन्तिम संस्कार पाउनु तथा पीडित परिवारको भावनाको सम्मान हुनु महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ।
उनले सुझाव सार्वजनिक गरेकै कारण कर्मचारीलाई कारवाही गरिएको हो भने त्यसले प्रशासनिक क्षेत्रमा नकारात्मक सन्देश जाने बताए। यद्यपि सरकारले निरौलालाई काजमा खटाउने निर्णय कारवाहीका रूपमा गरिएको भन्ने औपचारिक जानकारी दिएको छैन।
रसुवाको भौगोलिक अवस्था, ठूलो संख्यामा बेपत्ता व्यक्तिको खोजी तथा विभिन्न स्थानमा फेला परिरहेका शवको पहिचान र व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा गृह प्रशासनमा अनुभव भएका निरौलालाई सो जिम्मेवारीमा परिचालन गरिएको बताइएको छ।





