केरुङ क्षेत्रमा सम्पर्कविहीन ९८ नेपालीको नामावली चीनद्वारा नेपाललाई उपलब्ध

ड्रागन मिडिया सम्वाददाता
बुधबारको विनाशकारी बाढीपछि चीनको केरुङ क्षेत्रमा सम्पर्कविहीन भएका नेपाली नागरिकमध्ये ९८ जनाको नाम समेटिएको विवरण चिनियाँ पक्षले नेपाली पक्षलाई उपलब्ध गराएको छ।
चिनियाँ पक्षबाट शुक्रबार पठाइएको चार पृष्ठको नामावलीमा क्रम संख्या १ देखि ९८ सम्म नेपाली नागरिकको विवरण उल्लेख छ। सूचीमा सम्बन्धित व्यक्तिको नाम, लिङ्ग, जन्ममिति, प्रयोग गरिएको परिचयपत्रको प्रकार तथा परिचयपत्र नम्बरलगायत विवरण समावेश गरिएको छ।
नामावलीमा तामाङ, गुरुङ, शेर्पा, घले, मगर, थिङ, मोक्तानलगायत थर भएका व्यक्तिको संख्या उल्लेख्य देखिन्छ। सूचीमा महिला तथा पुरुष दुवै समावेश छन्।
उपलब्ध दस्तावेजमा सन् २०२६ अगस्ट २८ को मिति उल्लेख छ। यसबाट चिनियाँ अधिकारीहरूले बाढीपछि केरुङ क्षेत्रमा रहेका तथा त्यसपछि सम्पर्कमा आउन नसकेका नेपालीको विवरण संकलन गरी नेपाललाई पठाएको देखिन्छ।
बुधबार नेपाल–चीन सीमाक्षेत्रमा आएको प्रलयकारी बाढीले केरुङ तथा रसुवागढी आसपासको आवागमन र सञ्चार संरचनामा ठूलो क्षति पुर्याएपछि दुवैतर्फ रहेका नागरिकको वास्तविक अवस्था पत्ता लगाउने प्रयास जारी छ।
केरुङमा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा रहेका नेपालीका साथै मालवाहक सवारीका चालक, सहचालक, होटल तथा अन्य व्यवसायमा कार्यरत कामदार र यात्रु पनि प्रभावित भएका छन्।
चिनियाँ पक्षबाट प्राप्त ९८ जनाको सूचीलाई सम्पर्कविहीन नेपालीको पहिचान र खोजीमा महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ। यद्यपि यो सूचीलाई घटनापछि कुनै निश्चित समयमा तयार गरिएको विवरणका रूपमा बुझ्नुपर्ने भएकाले यसमा रहेका सबै व्यक्ति अहिले पनि बेपत्ता नै छन् भन्ने निष्कर्ष निकाल्नुअघि पछिल्लो उद्धार तथा सम्पर्क विवरणसँग मिलान गर्न आवश्यक छ।
नेपाल र चीनका सम्बन्धित निकायबीच सम्पर्कविहीन व्यक्तिको विवरण आदानप्रदान, पहिचान तथा खोजी कार्य जारी रहेकाले आगामी अद्यावधिकमा संख्या परिवर्तन हुन सक्ने देखिन्छ।





