१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्रीसँग भेट नभएपछि बागमतीका मुख्यमन्त्री थापा मगर घण्टीघरमा

रवि लामिछानेसँग राहत र पुनर्निर्माणबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र तीन तहका सरकारबीच समन्वयको विषयमा प्रधानमन्त्री बालेन शाहसँग भेट हुन नसकेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन्।

मुख्यमन्त्री थापामगरले प्रधानमन्त्री कार्यालयबाट दिउँसो ३ बजे प्रधानमन्त्रीसँग भेट हुने समय पाएको भए पनि निर्धारित समयमा सिंहदरबार पुग्दा प्रधानमन्त्रीसँग भेट हुन नसकेको बताएका छन्। त्यसपछि उनले प्रधानमन्त्रीका सुशासन मामिला विज्ञ सुदीप ढकालसँग छलफल गरेका थिए।

यसअघि बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको छलफलमा संघीय सरकारका तर्फबाट राहत वितरणमा देखिएका कठिनाइबारे छलफल भएको थियो। मुख्यमन्त्रीका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरूले प्रदेश सरकारलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरण अघि बढाउन आग्रह गरेका थिए।

प्रधानमन्त्रीसँगको भेटबाट राहत वितरणको कार्यविधि र तीन तहका सरकारको भूमिका स्पष्ट गर्ने तयारी रहेको मुख्यमन्त्री थापामगरको भनाइ छ। भेट हुन नसकेपछि उनी रास्वपा सभापति रवि लामिछानेसँग छलफल गर्न घण्टीघर पुगेका हुन्।

रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेका अनुसार लामिछाने र मुख्यमन्त्री थापामगरबीच बाढी प्रभावितको उद्धार, राहत, पुनर्निर्माण तथा मानवीय सहायताका विषयमा छलफल भएको छ।

मुख्यमन्त्री थापामगरले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय हुन नसकेको र प्रदेश सरकारले आफ्नै संयन्त्रमार्फत काम अघि बढाइरहेको बताएका थिए। प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारलाई पर्याप्त जानकारी नदिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भइरहेको जानकारी दिँदै राहत सामग्री नुवाकोटको बट्टार क्षेत्रमा थुप्रिएको तर त्यसभन्दा माथिका प्रभावित स्थानसम्म पुर्‍याउन समस्या भइरहेको बताए।

‘तीन तहका सरकारमध्ये कसले के काम गर्ने भन्ने स्पष्ट हुन आवश्यक छ। प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सकिएको छैन। राहत बट्टार क्षेत्रमा जम्मा भएको छ, तर त्यसभन्दा माथि पुर्‍याउन असहज भइरहेको छ,’ मुख्यमन्त्री थापामगरको भनाइ थियो।

जवाफमा लामिछानेले विपद्को समयमा संघीय र स्थानीय सरकारबीच समन्वय स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

उनले तीनै तहका सरकारबीच समन्वय गरेर राहत, उद्धार र पुनर्निर्माण अघि बढाउनुपर्ने भन्दै संघीय सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि पहल गर्ने प्रतिबद्धता जनाएको रास्वपाले जनाएको छ।

बाढीपहिरोबाट बागमती प्रदेशका विभिन्न जिल्ला गम्भीर रूपमा प्रभावित भएका बेला राहत सामग्री प्रभावित समुदायसम्म पुर्‍याउने, सडक तथा सञ्चार सम्पर्क पुनःस्थापित गर्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच जिम्मेवारी स्पष्ट गर्ने विषय प्रमुख चुनौतीका रूपमा देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button