१७ भाद्र २०८३, बुधबार

चीनले नेपाललाई ३० करोड नगद सहयोग हस्तान्तरण, ५० टन राहत र सुरुङ उद्धार टोली पनि परिचालन

ड्रागन मिडिया सम्वाददाता

चीन सरकारले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३० करोड रुपैयाँ नगद सहायता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। यससँगै चीनले राहत सामग्री, सुरुङ उद्धार विशेषज्ञ, विशेष उपकरण तथा विपदसम्बन्धी प्राविधिक सूचना उपलब्ध गराउँदै सहायता अभियान विस्तार गरेको छ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चीन सरकारका तर्फबाट ३० करोड रुपैयाँको सहायता हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएको चेकमा ‘नेपालमा विपद राहत प्रयासका लागि’ भन्दै ३० करोड रुपैयाँ उल्लेख गरिएको छ।

यो सहयोग चीनले यसअघि घोषणा गरेको २० लाख अमेरिकी डलर बराबरको आपतकालीन नगद सहायता अन्तर्गत उपलब्ध गराइएको हो।

कार्यक्रममा चिनियाँ रेडक्रसबाट उपलब्ध गराइएको दुई लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता पनि नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ। यस आधारमा चीन सरकार र चिनियाँ रेडक्रसबाट उपलब्ध नगद सहयोगको कुल परिमाण ३० करोड रुपैयाँभन्दा माथि पुगेको छ।

राजदूत चाङले नेपाल र चीनले हिमालय क्षेत्रको गम्भीर प्राकृतिक विपदको सामना संयुक्त रूपमा गरिरहेको उल्लेख गर्दै कठिन परिस्थितिमा चीन नेपालका साथमा रहेको बताए। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्याङले समेत नेपालको विपदप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

चीनबाट नगद सहायतासँगै ठूलो परिमाणमा राहत सामग्री पनि नेपाल आइपुगेको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० सैन्य परिवहन विमान करिब ५० टन आपतकालीन राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

दुई विमानबाट १३ हजार २०० थान राहत सामग्री ल्याइएको छ। ती सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, तत्काल खान मिल्ने खाद्य सामग्री तथा प्राथमिक उपचार सामग्री समावेश छन्।

ती विमानमार्फत चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र विशेष उपकरण पनि काठमाडौं आएका छन्। यसअघि शनिबार चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले नेपाल सरकारको अनुरोधमा पाँच जना सुरुङ उद्धार विशेषज्ञ पठाएको थियो। उनीहरू केरुङबाट हेलिकप्टरमार्फत नेपालका प्रभावित क्षेत्रमा पुगेर जलविद्युत आयोजनाका सुरुङमा फसेका मानिसको उद्धार कार्यमा सहभागी भएका छन्।

यससँगै नेपालमा सुरुङ उद्धारका लागि परिचालित चिनियाँ विशेषज्ञको संख्या नौ पुगेको छ।

नेपाल सरकारले ठूलो परिमाणको सामग्री तथा उपकरण ढुवानी गर्न सक्ने विशेष ड्रोनको आवश्यकता औंल्याएपछि चीनले त्यस्तो ड्रोन उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाएको राजदूत चाङले जानकारी दिएका छन्।

बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काउने प्रयाससमेत भइरहेको छ। केरुङतर्फको परम्परागत आवागमन अवरुद्ध भएपछि मुस्ताङको कोरला नाकामार्फत नेपाली नागरिकलाई फर्काउने सम्भावनाबारे दुवै पक्षबीच समन्वय भइरहेको बताइएको छ।

चीनले विपद प्रभावित क्षेत्रको उपग्रह तस्बिर, जलविज्ञानसम्बन्धी तथ्यांक तथा अन्य प्राविधिक सूचना पनि नेपाललाई उपलब्ध गराइरहेको छ। भोटेकोशी र त्रिशूली नदी प्रणालीमा थप जोखिमको आकलन तथा खोज र उद्धार कार्यका लागि यस्ता सूचनालाई महत्त्वपूर्ण मानिएको छ।

सहयोग स्वीकार गर्दै अर्थमन्त्री वाग्लेले अकल्पनीय विपदको सामना गरिरहेको नेपाललाई चीनले उपलब्ध गराएको तत्काल सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले सीमा क्षेत्रमा आएको विपदबाट चीनले समेत ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै चिनियाँ मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।

वाग्लेले विश्वव्यापी तापक्रम वृद्धि र हिमाली क्षेत्रमा देखिँदै गएको जलवायुजन्य जोखिमका कारण नेपाल र चीनजस्ता हिमालय क्षेत्रका मुलुकले भविष्यमा अझ जटिल विपद सामना गर्नुपर्ने चेतावनी दिए। यस्ता जोखिम न्यूनीकरण, पूर्वसूचना, उद्धार प्रविधि र पुनर्निर्माणमा नेपाल र चीनबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको उनले बताए।

उनले अहिलेको विपदबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत आयोजना तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने भन्दै पुनर्निर्माण चरणमा पनि चीनबाट थप सहयोगको अपेक्षा गरिएको बताए।

सहायता हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले र राजदूत चाङले नेपाल र चीनमा विपदका कारण ज्यान गुमाएका नागरिकको सम्झनामा एक मिनेट मौनधारणसमेत गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button