१७ भाद्र २०८३, बुधबार

बाढीले क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी, राहत वितरणमा एकद्वार प्रणाली पालना गर्न आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका घर र भवनमा अनधिकृत रूपमा प्रवेश नगर्न चेतावनी दिएको छ। उद्धारको नाममा त्यस्ता संरचनाभित्र प्रवेश गरी कानूनविपरीत गतिविधि गरेको पाइए कारवाही गरिने प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै क्षतिग्रस्त घर तथा भवनभित्र खोजी वा तलासी गर्नुपरे प्रहरीको उपस्थितिमा मात्र गर्नुपर्ने बताए।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खोज, उद्धार र राहतमा केन्द्रित रहेका बेला त्यसको फाइदा उठाएर चोरी, लुटपाट वा अन्य आपराधिक गतिविधि हुन सक्ने जोखिमप्रति प्रहरी सचेत रहेको उनले बताए। भग्नावशेष वा खण्डहर बनेका भवनमा शंकास्पद तथा आपराधिक मनसाय भएका व्यक्ति प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न उनले सर्वसाधारणसँग आग्रह गरे।

“बाढीबाट भग्नावशेष तथा खण्डहर बनेका भवनमा अनावश्यक र अनधिकृत रूपमा छिर्न कानूनले निषेध गरेको छ। उद्धारको नाममा गलत गतिविधि गर्न पाइँदैन, कानून उल्लंघन गर्न पाइँदैन,” काफ्लेले भने।

विपद्को समयमा गलत, भ्रामक तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि पनि प्रहरीले निगरानी बढाएको उनले बताए। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट पुष्टि नभएका सूचना प्रसार गरी त्रास, भ्रम वा अव्यवस्था सिर्जना गरेको पाइए सम्बन्धित व्यक्तिमाथि कानूनबमोजिम कारवाही गरिने उनको भनाइ छ।

प्रहरीले राहत संकलन तथा वितरणका नाममा हुन सक्ने अनियमित गतिविधिप्रति पनि सतर्क रहन आग्रह गरेको छ। सरकारले राहत वितरणका लागि एकद्वार प्रणाली लागू गर्ने निर्णय गरिसकेकाले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने व्यक्ति, संस्था तथा समूहले सम्बन्धित स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गर्नुपर्ने काफ्लेले बताए।

“सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेको छ र त्यसअनुसार कार्यविधिसमेत रहेको छ। राहत सामग्री सम्बन्धित स्थानीय तहमा लगेर स्थानीय सरकार र जिल्ला सुरक्षा समितिसँग समन्वय गरी वितरण गरौँ,” उनले भने।

प्रहरीले विपदको संवेदनशील परिस्थितिमा उद्धार तथा राहतको नाममा व्यक्तिगत रूपमा प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा प्रवेश नगर्न, भग्नावशेषमा भेटिएका सम्पत्ति वा सामग्री नचलाउन र कुनै शंकास्पद गतिविधि देखिए नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र सुरक्षा व्यवस्थापन एकैसाथ अघि बढिरहेका बेला सम्भावित चोरी, ठगी, गलत सूचना तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button