भोटेकोशी बाढीपछि काठमाडौंको आपूर्ति व्यवस्थामा दबाब, पेट्रोलियम पदार्थका लागि वैकल्पिक मार्ग खोजिँदै

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको अत्यावश्यक वस्तु आपूर्ति व्यवस्थामाथि दबाब बढेको छ। खाद्यान्नको तत्काल अभाव नदेखिए पनि खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा थप समस्या देखिन सक्ने व्यवसायीहरूले बताएका छन्।
मुख्य राजमार्ग अवरुद्ध भएपछि बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ। यद्यपि चामल, दाल, आँटालगायत खाद्य वस्तुको पर्याप्त मौज्दात रहेकाले केही दिनमै खाद्यान्न अभाव हुने अवस्था नरहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ।
संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले सडक तथा नाका केही दिन अवरुद्ध भए पनि खाद्यान्नको तत्काल अभाव नहुने बताए। उनका अनुसार बजारमा चामललगायत प्रमुख खाद्य वस्तुको पर्याप्त मौज्दात छ।
तर खाना पकाउने एलपी ग्यासको आपूर्तिमा भने थप दबाब पर्ने देखिएको छ। ग्यास बिक्रेता महासंघका उपाध्यक्ष विष्णुप्रसाद दुलालका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण यसअघि नै प्रभावित रहेको ग्यास आपूर्ति बाढीपहिरोका कारण थप समस्यामा परेको छ।
उनले अहिले ग्यास उद्योगहरूले उपभोक्ताको मागको करिब ५० प्रतिशत हाराहारीमा मात्र ग्यास उपलब्ध गराइरहेको बताए। उद्योगमा रहेको मौज्दातअनुसार बजारमा सिलिन्डर पठाइए पनि उपभोक्ताको माग पूरा गर्न नसकिएको उनको भनाइ छ।
चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात राख्ने प्रवृत्तिले बजारमा थप दबाब सिर्जना गर्न सक्ने व्यवसायीहरूले बताएका छन्। नेपालमा करिब एक करोड ८० लाख एलपी ग्यास सिलिन्डर प्रयोगमा रहेको र ९८ वटा ग्यास कम्पनीले बिक्री वितरण गरिरहेको बताइएको छ।
सडक अवरोधपछि पेट्रोलियम पदार्थको नियमित आपूर्ति कायम राख्न नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी थालेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन विभिन्न विकल्पबारे छलफल भइरहेको बताए। निगमले हेटौँडा–भैँसे–नौबिसे सडक तथा कान्तिलोकमार्गअन्तर्गत हेटौँडाबाट ललितपुरको चापागाउँ हुँदै काठमाडौंसम्म पेट्रोलियम पदार्थ ल्याउने विकल्पमा काम गरिरहेको छ।
ट्राफिक प्रहरी र स्थानीय तहसँग समन्वय गरेर सडकमा अत्यधिक चाप नपर्ने गरी ट्यांकर सञ्चालन गर्ने तयारी निगमको छ।
काठमाडौंको नियमित माग धान्न दैनिक करिब ५० ट्यांकर डिजेल र पेट्रोल भित्र्याउनुपर्ने निगमले जनाएको छ। नारायणगढ–मुग्लिन सडकको विकल्पमा मुग्लिन–तनहुँलगायत अन्य मार्ग प्रयोग गर्न सकिने विषयमा समेत सडक विभागसँग छलफल भइरहेको छ।
मुख्य आपूर्ति मार्ग लामो समयसम्म अवरुद्ध रहे पेट्रोलियम पदार्थ, एलपी ग्यास, तरकारी तथा शीघ्र बिग्रिने खाद्य वस्तुको आपूर्तिमा बढी असर पर्ने देखिएको छ। त्यसैले सरकारले वैकल्पिक सडक सञ्चालन, ढुवानी व्यवस्थापन र बजार आपूर्तिको नियमित अनुगमनलाई प्राथमिकता दिनुपर्ने व्यवसायीहरूले बताएका छन्।





