महोत्तरीबाट विपद राहत कोषमा सहयोग जुट्ने क्रम जारी, जन्मदिनको खर्चदेखि विद्यालयसम्मको योगदान

ड्रागन मिडिया सम्वाददाता
देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपदका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ। व्यक्तिगत उत्सवदेखि सामाजिक, व्यावसायिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका छन्।
महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख एक सहयोग गरेका छन्। उनले व्यक्तिगत खुसी र उत्सवमा खर्च गर्नुभन्दा विपदमा परेका नागरिकलाई सहयोग गर्नु उपयुक्त ठानेर उक्त रकम उपलब्ध गराएको बताएका छन्।
“देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन। बाढी तथा अन्य प्राकृतिक विपदबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ,” झाले भने।
त्यस्तै बर्दिबासका सामाजिक अभियन्ता तथा योगगुरु सुमित्रा भट्टराईले रु ५१ हजार सहयोग गरेका छन्। भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भई प्रभावित परिवार राहत तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनासहित सहयोग गरिएको उनले बताए।
भट्टराईले विपदका बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोग रकम ठूलो वा सानो हुनुभन्दा पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने बताए।
यसैगरी बर्दिबास उद्योग वाणिज्य सङ्घको सहकार्यमा श्री कृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषणा थापाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार सहयोग गरेका छन्।
मोनास्टिक स्कुल/कलेजले पनि विपद प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रु पाँच लाख एक हजार उपलब्ध गराउने भएको छ।
विद्यालयका निर्देशक डा सोनु साहले विपदका बेला पीडित परिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताए। सहयोगकर्ताहरूले विपदको कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक तथा शैक्षिक संस्था र नागरिक समाजले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।





