भोजपुरमा रुद्राक्षको कारोबार सुरु, वार्षिक करिब एक अर्बको व्यापार

ड्रागन मिडिया सम्वाददाता
भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ। जिल्लाका बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्न थालिएसँगै किसान र व्यवसायीले खरिद बिक्री शुरु गरेका छन्।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब रु एक अर्ब बराबरको रुद्राक्ष कारोबार भएको थियो। जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने गरेको छ।
कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्षखेतीप्रति किसान तथा युवाको आकर्षण बढ्दै गएको छ। राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षबाट किसानले एउटै दानाबाट समेत लाखौँ रुपैयाँ आम्दानी गर्न सक्ने व्यवसायी बताउँछन्।
भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन्। व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा संलग्न छन्।
रुद्राक्षको मूल्य यसको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा निर्धारण हुने गरेको छ। एउटै बोटमा फलेका सबै दानाको मूल्य समान हुँदैन। स्पष्ट मुख, आकर्षक बनोट र दुर्लभ विशेषता भएका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन्।
धार्मिक तथा आध्यात्मिक महत्त्वका कारण रुद्राक्षको माग नेपालभित्र मात्र नभई विदेशी बजारमा समेत उच्च रहेको व्यवसायीको भनाइ छ। दिङ्ला क्षेत्रका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक न्यूनतम रु एक लाखदेखि अधिकतम रु ६० लाखसम्म आम्दानी गर्दै आएका छन्।
रुद्राक्षबाट आम्दानी बढ्न थालेपछि किसानले नयाँ बिरुवा लगाउने र पुराना बगान संरक्षण गर्ने क्रमसमेत बढाएका छन्। व्यावसायिक खेती विस्तारसँगै गाउँमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना भएको स्थानीय किसान बताउँछन्।
दिङ्लामा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी किसानका घरसम्म पुग्ने गरेका छन्। भोजपुरमा उत्पादित रुद्राक्षको प्रमुख प्रारम्भिक बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार हो। त्यहाँबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला र काठमाडौं हुँदै चीन तथा भारतसम्म पुग्ने गरेको छ।
दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, कुलुङ, प्याउली, जरायोटार र सिक्रेटारलगायत क्षेत्रमा रुद्राक्षखेती हुँदै आएको छ। जिल्लाका अन्य क्षेत्रमा समेत यसको खेती विस्तार भइरहेको छ।
समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्म रुद्राक्षखेती राम्रो हुने बताइन्छ। भोजपुरको भौगोलिक अवस्था र हावापानी अनुकूल रहेकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझ विस्तार हुन सक्ने जानकारहरूको भनाइ छ।





