१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीपछि काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि काभ्रेपलाञ्चोकका ४१ जना अझै परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्ने र सम्पर्कविहीन भएकाहरूको विवरण अद्यावधिक गर्ने काम जारी राखेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार रोजगारी, व्यापार, भ्रमण तथा अन्य कामका सिलसिलामा रसुवा र आसपासका क्षेत्रमा पुगेका काभ्रेपलाञ्चोकका नागरिक सम्पर्कविहीन भएको जानकारी परिवार तथा आफन्तबाट प्राप्त भएपछि प्रशासनले खोज तथा समन्वयको पहल गरिरहेको छ।

कार्यालयले यसअघि सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवार तथा आफन्तलाई विवरण उपलब्ध गराउन सार्वजनिक अपिल गरेको थियो।

प्रशासनले परिवारका कुनै सदस्य अझै सम्पर्कविहीन अवस्थामा रहेको भए तत्काल जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन आग्रह गरेको छ।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा रहेका काभ्रेपलाञ्चोकका नागरिकलाई आफू सुरक्षित रहेको अवस्थामा सकेसम्म चाँडो परिवार तथा आफन्तसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद, सडक अवरोध तथा आवागमनमा कठिनाइ उत्पन्न भएकाले त्यहाँ रोजगारी, व्यापार र भ्रमणलगायतका सिलसिलामा पुगेका नागरिकको अवस्था पहिचान तथा यकिन गर्ने काम जारी रहेको प्रशासनले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button