शिक्षक भानुभक्त राईको मृत्यु प्रकरणमा ११ जना पक्राउ, पाँच दिन म्याद थप

ड्रागन मिडिया सम्वाददाता
केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटपछि मृत्यु भएको घटनामा पक्राउ परेका ११ जनाको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले सार्वजनिक गरेको छ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिटपछि मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सुङदेलका सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमी राई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन्।
उनीहरूलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराई घटनाको थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए।
प्रहरीका अनुसार भदौ ११ गते राति भएको कुटपिटपछि शिक्षक राईको मृत्यु भएको थियो। घटनामा संलग्न रहेको आरोपमा ११ जनालाई भदौ १२ गते नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानमा पुरानो विवाद र रिसिइबी घटनासँग जोडिएको देखिए पनि घटनाको विस्तृत कारण र प्रत्येक आरोपितको भूमिकाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाअन्तर्गत निम्नमाध्यमिक तहमा कार्यरत राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँडेका थिए। सोही दिन उनी धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी क्षेत्रमा पुगेका थिए।
प्रत्यक्षदर्शीका अनुसार भदौ ११ गते साँझ सालपा पोखरी नजिक माबुमा लागेको मेलामा राई र सुङदेलकै निशान राईबीच विवाद भएको थियो। मृतकका आफन्तले पुरानो रिसिइबीका कारण विवादपछि राईमाथि योजनाबद्ध रूपमा कुटपिट गरिएको आरोप लगाएका छन्। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
एउटै गाउँका ११ जना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेपछि सुङदेलमा चिन्ता र तनाव बढेको स्थानीयले बताएका छन्।
घटनास्थल भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कानुनी कारवाही जिल्ला प्रहरी कार्यालय भोजपुरले अघि बढाइरहेको छ। आवश्यक समन्वय र सहयोग जिल्ला प्रहरी कार्यालय खोटाङबाट उपलब्ध गराइने प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।





