१७ भाद्र २०८३, बुधबार

बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा रात्रीकालीन यातायात रोक

ड्रागन मिडिया सम्वाददाता

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्नु, सडक भासिनु तथा बाढीको जोखिम बढेपछि कतै यातायात पूर्ण रूपमा बन्द भएको छ भने केही सडकमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। निरन्तर वर्षाका कारण सडक हिलाम्मे र क्षतिग्रस्त भएपछि सवारी आवागमन बन्द भएको हो। उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गरी आवतजावत भइरहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत पृथ्वी राजमार्गको धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर र गजुरी गाउँपालिका–२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पनि सडक भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशुली नदीले सडकको तल्लो भाग कटान गरेपछि त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड तथा पासाङ ल्हामु सडक खण्डका विभिन्न भागमा यातायात प्रभावित भएको छ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बि.पि. राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइएको छ।

कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधनको आवतजावतमा रोक लगाइएको छ। यसैबीच ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङदुर र भालुखोलामा पहिरो खसेपछि कान्ति लोकपथको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैँसरीस्थित बेनी–जोमसोम सडक खण्डमा लेदोसहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्लामा पहिरो खसेपछि नाग्म–मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालयबाट सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button