१७ भाद्र २०८३, बुधबार

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

ड्रागन मिडिया सम्वाददाता

जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ।

चालु आर्थिक वर्षका लागि सरकारले जुम्लामा पाँच हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिए।

नेपालगन्जबाट नियमित रूपमा खाद्यान्न ढुवानी भइरहेको र ढुवानी कार्यलाई तीव्रता दिइएकाले गोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक रहेको कार्यालयले जनाएको छ। जुम्लामा कम्पनीबाट दैनिक करिब ९० क्विन्टल चामल बिक्री हुने गरेको प्रमुख जोशीले बताए।

पछिल्लो समय चामलको माग उल्लेख्य रूपमा बढेको छ। कम्पनीको वार्षिकोत्सवका अवसर पारेर साउन २८ गतेदेखि सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण भइरहेको छ। उक्त योजनाअन्तर्गत चामलमा रु १२५ छुट दिइएको कार्यालयले जनाएको छ।

कम्पनीले हाल अरुवा मोटा चामल प्रतिबोरा रु एक हजार ४००, अरुवा सोना मन्सुली रु एक हजार ४२५, मध्यम चामल रु एक हजार ४५० र स्टिम जिरा चामल रु दुई हजार १७५ मूल्य निर्धारण गरी बिक्री गरिरहेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखाबाट चामलका अतिरिक्त चिनी, भटमासको तेल र सूर्यमुखी तेलसमेत बिक्री वितरण हुँदै आएको कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button