माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा रातभर उद्धार प्रयास, कंक्रिट स्ल्याब फुटाएर प्रवेश गर्ने तयारी

ड्रागन मिडिया सम्वाददाता
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको भूमिगत संरचनामा सम्पर्कविहीन भएका प्राविधिक तथा कर्मचारीसम्म पुग्न उद्धार टोलीले रातभर काम गरेको छ।
उद्धार टोलीले सुरुङसम्म पुग्ने बाटो खोल्दै करिब ४०० मिलिमिटर बाक्लो कंक्रिटको ‘क्राउन स्ल्याब’ फुटाएर भित्र प्रवेश गर्ने तयारी अघि बढाएको छ। आयोजनाको पछिल्लो विवरणअनुसार स्ल्याब फुटाउन नियन्त्रित विस्फोटसमेत गरिएको छ।
यसअघि डीटीएच मेसिन प्रयोग गरी केबल सुरुङसम्म प्वाल छेडिएको थियो। उक्त प्वालबाट सुरुङभित्रको अवस्था बुझ्ने प्रयास गर्नुका साथै कम्प्रेसरमार्फत हावा तथा अक्सिजन पठाउने व्यवस्था गरिएको छ। भित्र प्रकाश पुर्याउने प्रयाससमेत भइरहेको उद्धारमा संलग्न टोलीले जनाएको छ।
उद्धार टोली आइतबार सुरुङको प्रवेशद्वारसम्म पुगेको थियो। प्रवेशद्वारमा जम्मा भएको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम जारी छ। प्रवेश मार्ग सुरक्षित भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ।
उद्धारकर्मी भित्र प्रवेश गरेपछि सुरुङ तथा भूमिगत विद्युतगृहको वास्तविक अवस्था प्रत्यक्ष निरीक्षण गर्नेछन्। उनीहरूसँग क्यामरा पठाएर बाहिरबाट समेत अवस्थाको निगरानी गर्ने तयारी गरिएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढी आउँदा माथिल्लो त्रिशूली–३ ‘ए’ को भूमिगत विद्युतगृहमा मर्मतसम्भारको काममा करिब ४० देखि ४२ प्राविधिक तथा कर्मचारी खटिएका थिए। उनीहरूसँग हालसम्म प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन।
उद्धार टोलीले सुरुङको प्रवेश क्षेत्रबाट करिब १८० मिटरभित्र रहेको सम्भावित कार्यस्थलसम्म पुग्न सके त्यहाँ रहेका व्यक्तिको वास्तविक स्थान र अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरेको छ।
नेपाली सेना, नेपाल विद्युत प्राधिकरणका प्राविधिक तथा सुरुङ विशेषज्ञले माथिल्लो त्रिशूली–३ ‘ए’ क्षेत्रमा उद्धार प्रयास जारी राखेका छन्।
यसैबीच भारतबाट आएको विशेषज्ञ सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी रसुवाको चिलिमे तथा लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा छुट्टै खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
बाढीपछि रसुवा र त्रिशूली नदी करिडोरका विभिन्न जलविद्युत आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। धेरै कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेकाले विभिन्न आयोजनामा समानान्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
प्रतिकूल मौसम, बाक्लो लेदो, क्षतिग्रस्त पहुँचमार्ग र भूमिगत संरचनाको अवस्थाबारे पर्याप्त जानकारी नहुँदा उद्धार चुनौतीपूर्ण बनेको छ। यद्यपि उद्धार टोलीले सुरुङभित्र हावा पुर्याउने, वैकल्पिक प्रवेशमार्ग खोल्ने र सुरक्षित रूपमा उद्धारकर्मी पठाउने कार्यलाई प्राथमिकतामा राखेको छ।





