एसिसी प्रिमियर कपमा आज बहराइनसँग खेल्दै नेपाल

ड्रागन मिडिया सम्वाददाता
एसियन क्रिकेट काउन्सिल (एसिसी) पुरुष प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आज बहराइनसँग खेल्दै प्रतियोगिताको यात्रा शुरु गर्दैछ।
मलेसियामा आइतबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल र बहराइनबीचको खेल नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा शुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली प्रतियोगिताको उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया रहेका छन्।
समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर छन्।
नेपाल र बहराइन ५० ओभरको एसिसी प्रिमियर कपमा पहिलोपटक आमनेसामने हुँदैछन्।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। प्रतियोगिताअघि नेपालले मलेसियाविरुद्ध खेलेका दुवै अभ्यास खेल जितेको छ। पहिलो अभ्यास खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो भने दोस्रो खेल २७ रनले जितेको थियो।
यसअघि नेपाली टोलीले भारतको बेङ्गलुरुमा १० दिने प्रशिक्षण गरेको थियो। प्रशिक्षणका क्रममा नेपालले स्थानीय टोलीविरुद्ध अभ्यास खेलसमेत खेलेको थियो।
समूह चरणमा नेपालले भदौ २१ गते साउदी अरेबियासँग तथा भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा हुनेछ। प्रतियोगिताको विजेताले सन् २०२७ को पुरुष एसिया कपमा स्थान सुरक्षित गर्नेछ।
नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले पर्याप्त तयारी र अभ्यासका कारण नेपाल प्रतियोगिताको बलियो दाबेदार रहेको बताएका छन्।
उनका अनुसार भारतमा गरिएको प्रशिक्षण र मलेसियाको परिस्थितिमा खेलिएका अभ्यास खेलले नेपाली टोलीलाई फाइदा पुर्याउनेछ। उनले नेपालको बलिङ पक्षलाई मुख्य शक्ति मान्दै युएई र ओमानलाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरेका छन्।
नेपालले सन् २०२३ मा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। नेपाली टोली यसपटक पनि सोही सफलता दोहोर्याउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ।





