माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङ खोल्न बिहान ३ बजे ब्लास्टिङ, पानी भरिएकाले प्रवेशमा कठिनाइ

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा प्रवेशमार्ग खोल्ने प्रयासस्वरूप सोमबार बिहान करिब ३ बजे ब्लास्टिङ गरिएको छ।
सुरुङको माथिल्लो भागमा रहेको करिब ४० सेन्टिमिटर मोटाइको कंक्रिट ढलान फुटाएर प्रवेशमार्ग बनाउने उद्देश्यले ब्लास्टिङ गरिएको सांसद तथा सुरुङ विशेषज्ञ श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
ब्लास्टिङपछि सुरुङभित्रको अवस्था बुझ्ने प्रयास गर्दा ठूलो भाग पानीले भरिएको देखिएकाले तत्काल भित्र प्रवेश गर्न कठिन भएको न्यौपानेले बताएका छन्।
“राति करिब ३ बजे ब्लास्ट त गरियो तर भित्र पस्ने आशा असम्भव भयो,” उनले उल्लेख गरेका छन्।
यद्यपि उद्धार टोलीले सुरुङको प्रवेश क्षेत्र खोल्ने र भित्रसम्म पुग्ने वैकल्पिक उपाय खोज्ने काम जारी राखेको छ।
यसअघि उद्धार टोलीले ड्रिलिङ गरी सुरुङमा हावा पठाउन प्वालहरू बनाएको थियो। सुरुङको माथिल्लो भाग पत्ता लगाएपछि गरिएको निरीक्षणमा भित्र धेरै माथिसम्म पानीको सतह देखिएको थियो।
बाढीपछि आयोजनाको भूमिगत संरचनामा रहेका प्राविधिक तथा कर्मचारीसँग सम्पर्क स्थापित हुन नसकेपछि नेपाली सेना, नेपाल विद्युत प्राधिकरणका प्राविधिक तथा सुरुङ विशेषज्ञले निरन्तर उद्धार प्रयास गरिरहेका छन्।
सुरुङभित्र ठूलो मात्रामा पानी रहेको प्रारम्भिक अवस्थाले उद्धार कार्य थप जटिल बनाएको छ। उद्धार टोलीले प्रवेशमार्ग सुरक्षित बनाउँदै सुरुङभित्रको वास्तविक अवस्था यकिन गर्ने प्रयासलाई निरन्तरता दिएको छ।





