१७ भाद्र २०८३, बुधबार

केरुङबाट कैलाश मानसरोवर गएका १४९ जना हिल्सा हुँदै नेपाल फर्किए

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीका कारण रसुवाको केरुङ नाका अवरुद्ध भएपछि सोही नाका हुँदै चीनको कैलाश मानसरोवर दर्शनका लागि गएका पर्यटक तथा नेपाली ट्रेकिङ गाइड हुम्लाको हिल्सा नाका हुँदै नेपाल फर्किएका छन्।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दबहादुर साउदका अनुसार चार दिनको अवधिमा हिल्सा नाकाबाट १४९ जना नेपाल प्रवेश गरेका छन्। तीमध्ये २२ जना नेपाली ट्रेकिङ गाइड रहेका छन्।

भदौ १० गते आएको भोटेकोशी बाढीका कारण केरुङ नाकातर्फको यातायात सेवा अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकले फर्कन हिल्सा नाका प्रयोग गर्न थालेका हुन्।

साउदका अनुसार भदौ ११ गते १०७ जना, भदौ १२ गते १९ जना, भदौ १३ गते १२ जना र भदौ १४ गते ११ जना हिल्सा नाकाबाट नेपाल प्रवेश गरी आआफ्नो गन्तव्यतर्फ लागेका छन्।

काठमाडौँ हुँदै केरुङबाट चीन प्रवेश गरेका पर्यटकले कैलाश मानसरोवर यात्रा पूरा गरेपछि पूर्वनिर्धारित मार्गबाट फर्कन नसक्दा हिल्सा हुँदै नेपाल प्रवेश गर्नुपरेको हो।

केरुङबाट गएका पर्यटक हिल्सा हुँदै फर्कने क्रम बढेसँगै हिल्सा–सिमकोट हेलिकोप्टर उडान र नेपालगन्ज–सिमकोट हवाई उडानसमेत बढेका छन्।

सामान्य अवस्थामा सिमकोट–हिल्सा मार्ग हुँदै कैलाश मानसरोवर जाने भारतीय पर्यटकका कारण यस क्षेत्रमा हवाई चाप बढ्ने गरेको थियो। पछिल्लो समय त्यस मार्गबाट कैलाश जाने यात्रु कम भए पनि केरुङ हुँदै गएका पर्यटक हिल्साबाट फर्कन थालेपछि विपरीत दिशाको यात्रु चाप बढेको हो।

यात्रुको बढ्दो चाप व्यवस्थापन गर्न नेपालगन्जबाट विमानहरू यात्रुबिना सिमकोट पुगेर त्यहाँबाट फर्किएका पर्यटकलाई नेपालगन्ज ल्याउने गरी उडान सञ्चालन भइरहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button