केरुङ विपद उद्धारमा २,१४१ जनशक्ति परिचालन, ९० हजार वर्गमिटर क्षेत्रमा खोजी

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङमा हिम–चट्टान अवरोहपछि आएको विनाशकारी गेग्रान बहावबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दुई हजार १४१ जनशक्ति परिचालन गरिएको छ।
उद्धार अभियानमा चिनियाँ जनमुक्ति सेना, जनसशस्त्र प्रहरी बल, चिनियाँ उद्धार टोली, चाइना आननङ, सीमा सुरक्षा तथा सार्वजनिक सुरक्षा निकायलगायत विभिन्न संयन्त्रका जनशक्ति परिचालित छन्।
उद्धार टोलीले हालसम्म करिब ९० हजार वर्गमिटर क्षेत्रफलमा खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ।
प्रभावित क्षेत्रमा २६९ वटा उद्धार सवारीसाधन र तीन हजार ९२२ सेट उद्धार उपकरण परिचालन गरी अग्रपङ्क्तिमा खोजी कार्य भइरहेको छ।
उद्धार टोली स्थल, जल तथा हवाई तीनै मार्गबाट विपदको मुख्य प्रभावित क्षेत्रतर्फ अघि बढिरहेको छ। सडक, सञ्चार र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेका कारण विभिन्न दिशाबाट प्रभावित क्षेत्रसम्म पहुँच स्थापित गर्ने प्रयास भइरहेको छ।
यसैबीच उद्धार अभियानमा मनोवैज्ञानिक सहायता उपलब्ध गराउने जनशक्तिसमेत परिचालन गरिएको छ। उनीहरूले लगातार उद्धार कार्यमा खटिएका उद्धारकर्मी तथा विपद प्रभावित स्थानीय बासिन्दालाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउनेछन्।
नेपालतर्फ भएको हिम–चट्टान अवरोहबाट उत्पन्न तीव्र गेग्रान बहावले चीनतर्फको केरुङ नाका र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि खोज तथा उद्धार अभियान व्यापक रूपमा सञ्चालन भइरहेको छ।
चिनियाँ अधिकारीहरूले खोज तथा उद्धारसँगै सम्भावित दोस्रो विपदको जोखिम निगरानी, सडक तथा सञ्चार पुनःस्थापना र प्रभावित नागरिकको सुरक्षित स्थानान्तरणलाई पनि प्राथमिकतामा राखेका छन्।





