११औँ पूर्वी आर्थिक मञ्चका सहभागीलाई पुटिनको शुभकामना, एशिया–प्रशान्तसँग सहकार्य विस्तारमा जोड

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा आयोजना हुने ११औँ पूर्वी आर्थिक मञ्चका सहभागी, आयोजक तथा अतिथिलाई शुभकामना दिँदै मञ्चले रुसको सुदूर पूर्व क्षेत्रको रणनीतिक विकास र एशिया–प्रशान्त क्षेत्रका मुलुकसँग पारस्परिक हितमा आधारित सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
सेप्टेम्बर १ देखि ४ सम्म भ्लादिभोस्तोकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चका लागि अगस्ट ३० मा पठाएको शुभकामना सन्देशमा पुटिनले मञ्च व्यवसायिक समुदाय, सरकारी निकाय र विज्ञ समुदायबीच खुला तथा रचनात्मक संवादको महत्वपूर्ण थलोका रूपमा स्थापित भएको बताएका छन्।
उनले मञ्च रुसको सुदूर पूर्व क्षेत्र तथा समग्र मुलुकको रणनीतिक विकासबारे छलफल गर्ने विशिष्ट मञ्च बनेको उल्लेख गरेका छन्। साथै एशिया–प्रशान्त क्षेत्रका साझेदारसँग यातायात तथा बन्दोबस्ती, उद्योग, ऊर्जा र अर्थतन्त्रका अन्य विभिन्न क्षेत्रमा पारस्परिक लाभका सम्बन्ध निर्माण तथा सुदृढ गर्न मञ्चले योगदान पुर्याएको उनको भनाइ छ।
यस वर्षको पूर्वी आर्थिक मञ्चको मुख्य विषय “सुदूर पूर्व : जनताको हितका लागि विकास” रहेको छ।
पुटिनले मञ्चका सहभागीले व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्ने, नागरिकको जीवनस्तर सुधार गर्ने तथा सुदूर पूर्वका शहर र बस्तीलाई थप सुविधाजनक र आधुनिक बनाउने प्रभावकारी समाधान प्रस्ताव गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले मञ्चमा प्रस्तुत हुने विचारहरू भविष्यमा व्यावहारिक तथा सम्भावनायुक्त परियोजनामा रूपान्तरण हुने अपेक्षासमेत व्यक्त गरेका छन्।
पूर्वी आर्थिक मञ्च रुसको सुदूर पूर्व क्षेत्रको आर्थिक तथा रणनीतिक विकाससँगै एशिया–प्रशान्त क्षेत्रसँग व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकसित हुँदै आएको छ।
राष्ट्रपति पुटिनले मञ्चका सहभागी, आयोजक तथा अतिथिलाई सफलताको शुभकामना दिएका छन्।





