बाढीले पुरिएको कृषि विकास बैंकको लकर भेटियो, डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरिएको नुवाकोटस्थित कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाको लकर सुरक्षित अवस्थामा फेला परेको छ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले विदुर नगरपालिका–१, ढुंगेस्थित बैंक शाखामा ठूलो क्षति पुर्याएको थियो। बाढी र माटोले भवन पुरिँदा बैंकको लकरसमेत पहुँचबाहिर पुगेको थियो।
प्रहरीका अनुसार आइतबार करिब आठ घण्टाको निरन्तर प्रयासपछि बैंक भवनभित्र रहेको लकरसम्म पुग्न सफल भएको हो।
लकर तथा बैंकभित्रबाट करिब एक करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा निकालिएको प्रहरीले जनाएको छ।
बरामद नगद, सुन तथा महत्वपूर्ण सामग्रीलाई सुरक्षित स्थानमा सारिएको छ।
बाढीले बैंक भवनमा व्यापक क्षति पुर्याए पनि लकरभित्र रहेको नगद र बहुमूल्य सामग्री सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।





