१७ भाद्र २०८३, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले उदयबहादुर राना ‘दीपक’लाई जिम्मेवारीबाट हटायो

ड्रागन मिडिया सम्वाददाता

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अध्यक्ष मण्डलका सदस्य उदयबहादुर राना ‘दीपक’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ।

पार्टीले जारी गरेको वक्तव्यमा दीपकमाथि पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी तथा विभाजनको प्रयास गरेको र षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।

वक्तव्यअनुसार यसअघि पनि केही नेता तथा कार्यकर्ताबाट गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि भएको भन्दै पार्टीले छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाका लागि अवसर दिएको थियो। तर चेतावनी र छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको निष्कर्ष छ।

देश बाढी र विपदको चपेटामा परेपछि पार्टीले राष्ट्रिय सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई पीडितको उद्धार र राहतमा परिचालित हुन अपिल गरेको थियो। तर उक्त अपिल तथा पार्टीको सर्कुलरविपरीत पार्टी कार्यालयलाई जानकारी नै नदिई बैठकका लागि परिपत्र जारी गरिएको वक्तव्यमा उल्लेख छ।

पार्टीले दीपकमाथि पार्टी विधानको भाग ५, धारा २७ बमोजिम कारवाही गरिएको जनाएको छ।

साथै केन्द्रीय सदस्य तथा कार्यकर्तालाई अर्थवाद, षड्यन्त्रकारी, गुटवादी, विभाजनकारी, अवसरवादी तथा अराजकतावादी गतिविधिको भ्रममा नपर्न आग्रह गर्दै पार्टीको निर्णयप्रति जिम्मेवार र अनुशासित बन्न आह्वान गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button