नेपालका बाढीपीडितका लागि सिक्किमबाट राहत तथा स्वास्थ्य सहायता

ड्रागन मिडिया समाचार कक्ष
नेपालमा आएको विनाशकारी विपदबाट प्रभावित नागरिकको सहयोगका लागि भारतको सिक्किमबाट अत्यावश्यक राहत सामग्री तथा स्वास्थ्य सहायता पठाइएको छ।
“सिक्किम फर नेपाल” अभियानअन्तर्गत सिक्किम क्रान्तिकारी मोर्चाको एक विशेष टोलीलाई आवश्यक राहत सामग्री र स्वास्थ्य सहायता लिएर नेपालतर्फ पठाइएको हो।

सिक्किमका तर्फबाट जारी सन्देशमा यो पहल नेपाल र नेपाली जनताप्रति सहयोग, ऐक्यबद्धता र मानवीय सद्भाव व्यक्त गर्ने उद्देश्यले गरिएको उल्लेख छ।
विपदको समयमा एकअर्कालाई सहयोग गर्नु साझा मानवीय जिम्मेवारी भएको उल्लेख गर्दै यो अभियानले सिक्किम र नेपालबीचको करुणा, मानवता र भ्रातृत्वको सम्बन्ध प्रतिबिम्बित गर्ने जनाइएको छ।
सन्देशमा विपदमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित तथा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाइएको छ।
साथै नेपालले पुनःस्थापना र पुनर्निर्माणको कठिन प्रक्रिया शुरु गरिरहेको अवस्थामा सिक्किमका जनताको साथ र सद्भाव नेपाली जनतासँग रहने उल्लेख गरिएको छ।





