भोटेकोशी बाढीपीडितका लागि कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा दिने

ड्रागन मिडिया सम्वाददाता
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन उक्त निर्णय गरिएको बताइन्।
बैठकमा विपद प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका नेता तथा सांसदहरूले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थिए। बैठकले मृतकहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ।
कांग्रेसले संसदको अधिवेशन तत्काल सञ्चालन गर्न पनि माग गरेको छ। प्रमुख सचेतक थापाका अनुसार सदनमार्फत जनताका समस्या सरकारसमक्ष पुर्याउन तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला–जिल्लाबाट सूचना संकलन र समन्वय गर्न सहज हुने भएकाले संसद सञ्चालन आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको हो।
यस विषयमा सभामुखसँग समेत छलफल गरिने थापाले बताइन्।
कांग्रेसले केन्द्रमार्फत राहत वितरण गर्ने सरकारको नीतिका कारण बाढी प्रभावित कतिपय पीडितसम्म समयमै राहत पुग्न नसकेको दाबीसमेत गरेको छ।





