सिचाङको मैबा गाउँमा ‘रातो र निलो’ समृद्धि, गोजीबेरी र ब्लुबेरी बने आम्दानीका आधार

ड्रागन मिडिया समाचार कक्ष
शरद ऋतु शुरु भएसँगै चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित न्यिङचीका पहाडमा बादल मडारिन थालेका छन्। बायी क्षेत्रको बुच्यु टाउनशिपअन्तर्गत मैबा गाउँमा भने यतिबेला रातो गोजीबेरी र निलो ब्लुबेरी पाकेर बगान भरिएका छन्। यी दुई फल अहिले गाउँको पारिस्थितिक कृषि तथा ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधार बनेका छन्।
गोजीबेरी टिप्ने मौसम शुरु भएपछि बगानमा स्थानीय बासिन्दाको चहलपहल बढेको छ। बिहानदेखि साँझसम्म फल टिप्ने स्थानीयले आफ्नै गाउँमा रोजगारीसँगै अतिरिक्त आम्दानी गरिरहेका छन्।
स्थानीय बासिन्दा युद्रोनका अनुसार उनीहरू बिहान करिब ७ बजेदेखि साँझ ७ः३० बजेसम्म बगानमा काम गर्छन् र कामको परिमाणअनुसार दैनिक करिब २०० देखि ३०० युआनसम्म कमाउन सक्छन्।
विगतमा कृषि कार्य सकिएपछि स्थानीय बासिन्दासँग गाउँमै नियमित कामको अवसर सीमित थियो। अहिले गोजीबेरी र ब्लुबेरीको उत्पादन तथा कटानी समय फरक फरक भएकाले स्थानीयले पालैपालो दुवै बगानमा काम पाउन थालेका छन्।
मैबा गाउँको गाउँ मामिला अनुगमन समितिका प्रमुख पेमा छेक्याबका अनुसार यसले गाउँबासीलाई घरनजिकै रोजगारी र आम्दानीको अवसर दिएको छ। जुलाईयता मात्रै गोजीबेरी बगानमा छैटौँ चरणको फल टिप्ने काम भइरहेको उनले बताए।
पछिल्ला वर्षमा यातायात पूर्वाधार सुधार हुँदै गएपछि प्रान्तीय राजमार्ग ५०५ नजिक रहेको मैबा गाउँले आफ्नो भौगोलिक अवस्थाको फाइदा उठाउँदै कृषि संरचनामा विविधता ल्याएको छ। ब्लुबेरी खेतीको आधार तयार गरेपछि गाउँले गोजीबेरीलाई अर्को प्रमुख विशेष कृषि उद्योगका रूपमा विकास गरेको हो।
सन् २०२४ मा गाउँले ४४ मु क्षेत्रफलको गोजीबेरी बगान र ४३ मु नदीकिनारको जमिन व्यावसायिक प्रयोजनका लागि बाह्य कम्पनीलाई भाडामा दिएको थियो। त्यसपछि कृषि उत्पादन पार्क तथा कृषि पर्यटन परियोजना विकास गर्न निजी क्षेत्रलाई सहभागी गराइएको छ।
सन् २०२५ मा गोजीबेरीको कुल बिक्री १५ लाख ६० हजार युआन पुगेको थियो। यसबाट गाउँका ५० परिवारले जमिनको लाभांश, ज्यालादारी र अन्य माध्यमबाट कुल चार लाख ३० हजार युआन थप आम्दानी गरेका थिए।
गोजीबेरी बगाननजिकै यार्लुङ जाङ्बो नदी क्षेत्रको ब्लुबेरी उत्पादन केन्द्र पनि यतिबेला फलले भरिएको छ।
उच्च भूभागको विशिष्ट हावापानीका कारण यहाँ उत्पादन हुने ब्लुबेरी गुलियो, रसिलो र भरिलो हुने बगान व्यवस्थापन पक्षको भनाइ छ। फलको गुणस्तर कायम राख्न टिप्ने समयदेखि छनोट र प्याकिङसम्मका प्रत्येक चरणमा विशेष सावधानी अपनाइन्छ।
मैबा गाउँमा ब्लुबेरीलाई स्थानीयको पहिलो ‘समृद्धिको फल’का रूपमा लिइन्छ। सन् २०२२ को जुलाईमा ब्लुबेरी बगानमा पहिलोपटक व्यावसायिक रूपमा फल लाग्दा गाउँको सामूहिक अर्थतन्त्रमा ५० हजार युआनभन्दा बढी आम्दानी भएको थियो।
त्यसपछि गाउँ र सहकार्य गरिरहेको कम्पनीले खेती व्यवस्थापन, प्रविधि सुधार तथा बजार विस्तारमा सहकार्य गर्दै ब्लुबेरी उत्पादनलाई कृषि पर्यटनसँग जोड्ने मोडल विकास गरेका छन्।
सन् २०२५ मा मैबा गाउँको ब्लुबेरीबाट कुल नौ लाख ५० हजार युआन आम्दानी भएको थियो। त्यसमध्ये स्थानीयको ज्याला र लाभांशबापत चार लाख ९८ हजार युआन वितरण भएको थियो।
गोजीबेरी र ब्लुबेरी उत्पादनलाई गाउँको सामूहिक अर्थतन्त्र, स्थानीय रोजगारी र कृषि पर्यटनसँग जोड्दै सरकार, निजी क्षेत्र, गाउँको सामूहिक संस्था र किसानबीच सहकार्यको ढाँचा विकास गरिएको छ।
मैबा गाउँले वातावरण संरक्षण र हरित विकासमा गरेको कामका आधारमा सन् २०२४ मा सिचाङ स्वायत्त क्षेत्रको ‘पारिस्थितिक सभ्यता निर्माण नमुना गाउँ’को मान्यता पनि प्राप्त गरेको थियो।
तर उत्पादन बढ्दै गए पनि बजार विस्तार अझै मुख्य चुनौती रहेको स्थानीय नेतृत्वले जनाएको छ। उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नराखी बाहिरी बजारसम्म पुर्याउन बिक्री तथा आपूर्ति सञ्जाल थप विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
स्थानीय नेतृत्वका अनुसार अबको लक्ष्य उच्च भूभागमा उत्पादन हुने गुणस्तरीय गोजीबेरी र ब्लुबेरीलाई अझ व्यापक बजारसम्म पुर्याउनु हो।
मैबा गाउँको अनुभवले पारिस्थितिक संरक्षण र आर्थिक विकासलाई एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक बनाउने प्रयास देखाएको छ। रातो गोजीबेरी र निलो ब्लुबेरीले अहिले स्थानीयको आय वृद्धि, गाउँको सामूहिक अर्थतन्त्र विस्तार र ग्रामीण पुनरुत्थानलाई एकैसाथ अघि बढाउने ‘दुई रङको’ कृषि उद्योगको स्वरूप लिएका छन्।





