१७ भाद्र २०८३, बुधबार

मोरङको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

ड्रागन मिडिया सम्वाददाता

मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा तीन थान भरुवा बन्दुकसहित विभिन्न सामग्री बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राति मिक्लाजुङ गाउँपालिकाको लालमारी श्रीलंका टोलस्थित मयूरी सामुदायिक वनभित्र बोरामा लुकाएर राखिएको अवस्थामा तीन थान भरुवा बन्दुक फेला परेको हो।

बन्दुकसँगै प्रयोग हुने फलामको एक थान नाल, बारुद, फलामको ब्यारिङ तथा फलामका टुक्रासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार प्राप्त सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले वनभित्र खोजी गर्दा ती हतियार तथा सामग्री फेला पारेको हो।

प्रहरीले वन क्षेत्रमा चोरी शिकारी गर्ने उद्देश्यले ती हतियार लुकाएर राखिएको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ।

बरामद हतियार कसले र कुन प्रयोजनका लागि वनभित्र लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button