विपद प्रतिकार्य र पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गरिने

ड्रागन मिडिया सम्वाददाता
सरकारले विपद प्रतिकार्य, उद्धार, राहत तथा पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल गठन गर्ने भएको छ।
सोमबार सिंहदरबारमा सरोकारवाला निकायहरूसँग भएको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक पूर्वाधार, सडक, पुल, खानेपानी तथा सरसफाइ र सुरुङ उद्धारका क्षेत्रमा केन्द्रित पाँच कार्यदल गठन गरिने जानकारी दिए।
उनका अनुसार सडक तथा पुलअन्तर्गत झोलुङ्गे पुल, तुइन र बेली ब्रिजसम्बन्धी कामलाई समेत प्राथमिकतामा राखिनेछ। सुरुङभित्र हुनसक्ने जोखिम र उद्धारका लागि नेपाली सेना तथा नेपाल विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने उनले बताए।
विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म समयमै पुग्न नसकेको जनगुनासोप्रति सरकार सजग रहेको उल्लेख गर्दै वाग्लेले कर्मचारीतन्त्रीय ढिलासुस्ती नगरी कोष तत्काल परिचालन गर्न निर्देशन दिए।
उनले स्थानीय तहमा रकम हस्तान्तरण गर्ने प्रक्रियालाई कानुनी दायराभित्र रहेर सहज र द्रुत बनाइने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री वाग्लेले विपदपछिको आवश्यकता आँकलन (पीडीएनए) दुई चरणमा गरिने जानकारी दिए। पहिलो चरणमा सार्वजनिक तथा निजी क्षेत्रको क्षति र नोक्शानीको विवरण संकलन गरिनेछ भने दोस्रो चरणमा पुनर्स्थापना, पुनर्निर्माण र भविष्यको विकास रणनीतिको खाका तयार पारिनेछ।





