१७ भाद्र २०८३, बुधबार

कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास बोटलिङ सुरु

ड्रागन मिडिया सम्वाददाता

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लामा आपूर्ति हुने खाना पकाउने ग्यास राजधानी बाहिरका उद्योगमै बोटलिङ गर्न थालिएको छ।

सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट ट्रक काठमाडौँसम्म पुग्न नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगसँग समन्वय गरी ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौँ ल्याउने व्यवस्था गरेका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले सम्बन्धित उद्योगलाई राजधानी बाहिर ग्यास बोटलिङ गर्न अनुमति दिएको छ। उपत्यका र आसपासका १६ उद्योगले बाहिरका उद्योगसँग समन्वय गरेर आपूर्ति व्यवस्थापन गरिरहेका छन्।

चन्दका अनुसार काठमाडौँ उपत्यका र छिमेकी जिल्लामा मात्रै मुलुकको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी खपत हुने गरेको छ।

सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याइने बताए। बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी क्षेत्रका उद्योगमा भरिएका सिलिन्डर त्रिभुवन राजपथलगायत वैकल्पिक सडक हुँदै काठमाडौँ ल्याइने उनले जानकारी दिए।

राजधानी बाहिरका उद्योगमा ग्यास बोटलिङ सुरु भइसकेकाले उपत्यका र आसपासका जिल्लामा तत्काल अभाव नहुने कालाखेतीले बताए। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रहसमेत गरेका छन्।

उनका अनुसार श्री ग्यासले बाबा ग्यास, श्रीकृष्ण ग्यासले साइबाबा, श्रीराम ग्यासले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी तथा एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगमा ग्यास बोटलिङ सुरु गरिसकेका छन्।

अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योगसँग समन्वय गरी ग्यास भर्ने र वैकल्पिक मार्गबाट उपत्यकामा आपूर्ति गर्ने व्यवस्था मिलाइरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button