१७ भाद्र २०८३, बुधबार

पहिरो जोखिमका कारण तातोपानी नाकाबाट आयात–निर्यात बन्द

ड्रागन मिडिया सम्वाददाता

नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक तातोपानी नाकाबाट हुने आयात–निर्यात अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। नेपालतर्फको लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेपछि चिनियाँ पक्षले व्यापारिक गतिविधि रोकिएको जानकारी नेपाली पक्षलाई दिएको हो।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार लिपिङ क्षेत्रमा पहिरोको अवस्था स्थिर नभएसम्म तातोपानी नाकाबाट नियमित व्यापार पुनः सञ्चालन हुने सम्भावना कम छ। यद्यपि यात्रु आवतजावत भने सञ्चालनमा रहने बताइएको छ।

भोटेकोशी क्षेत्रमा आएको पछिल्लो भीषण बाढीले रसुवागढी–टिमुरे नाका गम्भीर रूपमा क्षतिग्रस्त पारेपछि तातोपानी नाका नेपाल–चीन व्यापारका लागि अझ महत्वपूर्ण बनेको थियो। तर तातोपानीसमेत व्यापारिक प्रयोजनका लागि बन्द भएपछि हाल कोरला नाका मुख्य वैकल्पिक स्थलमार्गका रूपमा बाँकी रहेको छ।

निरौलाका अनुसार केरुङमा रोकिएका ट्रक तथा कन्टेनरलाई समेत कोरला हुँदै नेपाल ल्याउने योजना बनाइएको छ। बाढीपछि चीनको सिचाङ क्षेत्रमा रोकिएका केही नेपाली नागरिकलाई भने तातोपानी नाकामार्फत स्वदेश फर्काउने तयारी भइरहेको छ।

तातोपानी नाका यसअघि पनि अरनिको राजमार्गमा लगातार पहिरो गएपछि करिब तीन सातासम्म बन्द भएको थियो। सीमित रूपमा यातायात सञ्चालनमा आएको केही समयपछि पछिल्लो विपदका कारण पुनः व्यापार रोकिएको हो।

तातोपानीस्थित सुक्खा बन्दरगाहसमेत मालवाहक सवारी र सामानले भरिएको बताइएको छ। नाका लामो समय बन्द हुँदा चीनबाट नेपाल आउनुपर्ने सामान सिचाङका विभिन्न स्थानमा रोकिएका छन् भने सीमाक्षेत्रका व्यापारी र ढुवानी व्यवसायी थप प्रभावित भएका छन्।

रसुवागढी क्षेत्रमा बाढीले भन्सार, अध्यागमन, प्रहरीलगायत सरकारी संरचना क्षतिग्रस्त बनाएकाले उक्त नाकाबाट तत्काल नियमित व्यापार सञ्चालन कठिन देखिएको छ। सरकारी कार्यालय पुनःस्थापना र सडक संरचना सञ्चालनयोग्य बनाउन समय लाग्ने भएकाले नेपाल–चीन स्थल व्यापारमा थप दबाब पर्ने देखिएको छ।

दसैं नजिकिँदै गर्दा दुवै प्रमुख व्यापारिक नाका अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्ने व्यवसायी चिन्तित बनेका छन्। स्थलमार्ग सहज नभए कोरला नाका वा कोलकाता हुँदै समुद्री मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ।

तातोपानी नाका लामो समय बन्द रहँदा भन्सार राजस्वमा समेत उल्लेख्य असर पर्ने सम्भावना छ। वार्षिक अर्बौं रुपैयाँ राजस्व संकलन हुने यो नाका र रसुवागढी दुवै प्रभावित हुँदा आयात लागत, ढुवानी समय र बजार आपूर्तिमा थप दबाब पर्न सक्ने देखिएको छ।

बाह्रबिसे–तातोपानी सडकखण्डमा बारम्बार पहिरो जाने समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको स्थानीय पक्षले बताउँदै आएका छन्। सरकारले अरनिको राजमार्गको मर्मत तथा स्तरोन्नतिका लागि चिनियाँ सहयोग स्वीकार गर्ने निर्णयसमेत गरिसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button