१७ भाद्र २०८३, बुधबार

ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा–११

ड्रागन मिडिया सम्वाददाता

ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापा–११ फुटबल क्लब प्रवेश गरेको छ।

आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा–११ ले अन्तिम चारमा स्थान बनाएको हो।

खेलको पाँचौँ मिनेटमा आयुष घलानले गरेको गोल नै झापा–११ को जितका लागि निर्णायक बन्यो। त्यसपछि नेपाल पुलिस क्लबले बराबरीका लागि लगातार प्रयास गरे पनि गोल गर्न सकेन र प्रतियोगिताबाट बाहिरियो।

झापा–११ ले अब सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फिदिमले चित्लाङ एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। झापा–११ र फिदिमबीचको सेमिफाइनल खेल भदौ १७ गते हुनेछ।

यसअघि मङ्गलबार हुने पहिलो सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलले तथा सलहेशले सातदोबाटो एफसीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button