हेटौँडा–काठमाडौँ सडकमा साना सवारीका लागि आउँदा–जाँदा फरक मार्ग

ड्रागन मिडिया सम्वाददाता
हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौँडाबाट काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट हेटौँडा आउने सवारीले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको संख्या उल्लेख्य रूपमा बढेको छ। त्यसका कारण वैकल्पिक मार्गमा सवारी जाम र लामो समयसम्म सवारी रोकिनुपर्ने अवस्था सिर्जना भएको थियो।
स्थानीय प्रशासनले नयाँ मार्ग व्यवस्थापनबाट वैकल्पिक सडकमा सवारी चाप व्यवस्थित हुने र यात्रुले लामो समयसम्म जाममा बस्नुपर्ने समस्या कम हुने अपेक्षा गरेको छ।





