१७ भाद्र २०८३, बुधबार

भोटेकोशी विपदको छैटौँ दिन : ११ हजारभन्दा बढीको उद्धार, ९३९ शव फेला, राहत कोषमा ५ अर्ब ८७ करोड जम्मा

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले फेसबुकमार्फत विपद प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारमाध्यम, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा नागरिकले पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रदेश तथा स्थानीय सरकार, मित्रराष्ट्र र स्वदेशी तथा विदेशी संघसंस्थालाई सहयोगका लागि धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। उद्धारपछि विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्। सम्पर्कविहीनको संख्या निरन्तर अद्यावधिक भइरहेकाले घटबढ हुन सक्ने उनले बताएका छन्।

सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा चारवटा संकलन केन्द्र तथा रसुवा र नुवाकोटका २७ वितरण केन्द्रमार्फत ३ हजार ६९६ प्रभावित नागरिकसम्म राहत पुर्‍याएको जनाएको छ। भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट राहत सहयोग प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

आर्थिक सहयोगतर्फ प्रधानमन्त्री राहत कोषका नौवटा वाणिज्य बैंक खातामा मंगलबार मध्यान्हसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा अमेरिकी डलरमा खोलिएका खातामा थप ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर प्राप्त भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

बाढीबाट अवरुद्ध नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालसँग जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको छ।

रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुल भत्किएकाले सरकारले अस्थायी बेलिब्रिज निर्माणलाई प्राथमिकता दिएको छ। सरकारसँग ४८ मिटर लम्बाइका छवटा र ७० मिटर लम्बाइको एउटा बेलिब्रिज रहेको प्रधानमन्त्रीले बताएका छन्। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने सम्भाव्यता अध्ययन गरिएको छ।

भारतबाट २३० फिट लामो एक लेनको मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सातवटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता आएको प्रधानमन्त्रीले बताएका छन्। चीनबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुने जानकारी उनले दिएका छन्।

विद्युत सेवातर्फ रसुवाको कालिकास्थान, नौकुण्डका केही भाग, गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर ५ र ६ का केही क्षेत्र तथा सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत पुनःस्थापना भएको छ। बाँकी क्षेत्रका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।

नुवाकोटमा करिब ८५ प्रतिशत क्षेत्रमा विद्युत सेवा पुनःस्थापना भएको र बाँकी क्षेत्रमा पाँच दिनभित्र सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। धादिङमा आदमघाटको केही क्षेत्रबाहेक करिब ९८ प्रतिशत क्षेत्रमा विद्युत सेवा सञ्चालनमा आएको छ।

सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनामा पनि उद्धार कार्य जारी छ। नेपाली सेनाले विभिन्न जलविद्युत परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको प्रधानमन्त्रीले बताएका छन्।

रसुवागढी जलविद्युत आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले आयोजनाको सुरुङभित्र खोजी गरेको भए पनि सुरुङमा मानिस नभेटिएको उल्लेख गरिएको छ।

लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना, भारतीय उद्धार टोली तथा नेपाली सहयोगीले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। मैलुङ खोला जलविद्युत आयोजनाबाट नौ तथा माथिल्लो त्रिशूली–१ आयोजनाबाट २५४ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ को सुरुङ क्षेत्रमा नेपाली सेनासँगै कोरियाली र चिनियाँ टोली पनि खोज तथा उद्धारमा परिचालित छन्।

माथिल्लो त्रिशूली–थ्री ए जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ९० जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ भने त्यहाँ नेपाली सेनाका ३१ जना परिचालित छन्।

त्रिशूली जलविद्युत आयोजनाबाट तीन, सौर्य आयोजनाबाट चार र देवीघाट जलविद्युत आयोजनाबाट चार जनाको उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म बाढीबाट ज्यान गुमाएका ९३९ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाइएको छ भने पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार डिएनएलगायत पहिचानमा सहयोग पुग्ने प्रमाण सुरक्षित राखेर वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन भइरहेको छ।

प्रधानमन्त्रीले भोटेकोशीको बाढीलाई सामान्य बाढीका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्। हिमालय क्षेत्रमा हिउँ र चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपद भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा प्राकृतिक जोखिम बढिरहेको बताएका छन्।

यस घटनाले हिमालय क्षेत्रका मुलुकलाई थप सतर्क हुनुपर्ने आवश्यकता देखाएको भन्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र जोखिमको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका छन्।

सरकारले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापनाको तयारी पनि शुरु गरेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिक तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र घर, परिवार तथा सम्पत्ति गुमाएका नागरिकलाई सामान्य जीवनमा फर्काउन आवश्यक आर्थिक स्रोत जुटाउने काम जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

उनले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नेतृत्वसँग नियमित ब्रिफिङ लिइरहेको तथा प्रभावित क्षेत्रमा खटिएका मन्त्री, संसद सदस्य र अन्य प्रतिनिधिबाट पनि निरन्तर जानकारी लिइरहेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button