१७ भाद्र २०८३, बुधबार

बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटियो

ड्रागन मिडिया सम्वाददाता

नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा बाढीले लेदोसहित पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ।

खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले सोमबार उक्त घरबाट छवटा शव निकालेको छ। बाँकी १६ वटा शव मंगलबार निकाल्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारलाई तहसनहस बनाएको थियो। बाढी आएको छैटौँ दिनपछि सोमबार खोज तथा उद्धारका क्रममा लेदोले पुरिएको घरभित्र एकै स्थानमा ठूलो संख्यामा शव फेला परेको हो।

बाढी आउँदा ती मानिस उक्त घरमा भेला भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। फेला परेका शवको अवस्था अत्यन्त खराब रहेकाले तत्काल पहिचान गर्न कठिन भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले बेत्रावतीमा पुरिएको घरभित्र ठूलो संख्यामा शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार सोमबार केही शव निकालिएको र बाँकी शव निकाल्ने काम मंगलबार गरिनेछ।

उक्त घरमा मानिस पुरिएको आशंका गर्दै स्थानीयस्तरबाट यसअघि नै तत्काल खोजी गर्न माग गरिएको थियो। बेत्रावतीका पत्रकार लक्ष्मण डंगोलले घरमा मानिस पुरिएको जानकारी दिँदै शीघ्र खोज तथा उद्धारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

डंगोलका अनुसार प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उक्त स्थानमा तत्काल खोज तथा उद्धार गर्न आग्रह गरिएको भए पनि समयमै सुनुवाइ हुन सकेन। बाढी आएको छैटौँ दिनपछि मात्र उक्त घरमा खोजी गर्दा २२ जनाको शव फेला परेको हो।

घटनास्थलमा बाँकी शव निकाल्ने, पहिचानका लागि आवश्यक विवरण तथा नमुना संकलन गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने काम सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा अघि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button