१७ भाद्र २०८३, बुधबार

नवलपरासीमा भेटिएका ४५ शवको अलकत्रा डाँडामा व्यवस्थापन

ड्रागन मिडिया सम्वाददाता

भदौ १० गतेको बाढीमा बगेर नारायणी नदी हुँदै पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका शवको व्यवस्थापन शुरु गरिएको छ। सोमबार मात्रै ४५ शवको आवश्यक कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार पहिचान हुन नसकेका शवबाट डिएनए परीक्षणका लागि नमुना संकलनसहित आवश्यक विवरण सुरक्षित राखेर व्यवस्थापन भइरहेको छ। पहिचानसम्बन्धी प्रक्रिया पूरा भएपछि बाँकी शव पनि क्रमशः व्यवस्थापन गरिनेछ।

जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिएका छन्। आवश्यक मापदण्ड र कानूनी प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।

सोमबार बिहानसम्म पश्चिम नवलपरासीका विभिन्न स्थानमा १५५ शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ। अधिकांश शवको अवस्था अत्यन्त खराब रहेकाले अनुहारबाट पहिचान गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ।

फेला परेका शवको पहिचानका लागि परासी र बुटवललगायत अस्पतालमा डिएनए परीक्षण तथा अन्य फरेन्सिक प्रक्रिया अघि बढाइएको छ। पश्चिम नवलपरासीमा फेला परेका शव पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र कपिलवस्तुको पिपरा अस्पतालमा राखिएका छन्।

ती अस्पतालमा शव पहिचान तथा परिचय कक्ष स्थापना गरिएको छ। आफन्तको खोजीमा आउने व्यक्तिलाई शवसम्बन्धी अभिलेख तथा उपलब्ध तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

सोमबार व्यवस्थापन गरिएका ४५ शवमध्ये पृथ्वीचन्द्र अस्पतालमा रहेका २० र लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका २५ शव छन्। शव व्यवस्थापन तथा पहिचान प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मी परिचालित छन्।

पृथ्वीचन्द्र अस्पतालमा अझै ७० भन्दा बढी शव रहेको जनाइएको छ। ती शवबाट डिएनए नमुना संकलन तथा आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि क्रमशः व्यवस्थापन गरिनेछ।

प्रत्येक शवलाई छुट्टाछुट्टै नम्बर दिएर अभिलेख राखिएकाले तत्काल पहिचान हुन नसके पनि पछि डिएनए परीक्षण तथा अन्य विवरणका आधारमा सम्बन्धित परिवारले पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ।

पृथ्वीचन्द्र अस्पतालका दुई र बुटवलका एक गरी तीन जना फरेन्सिक चिकित्सक शव पहिचान तथा डिएनए नमुना संकलनको प्रक्रियामा संलग्न छन्। पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बृज यादवका अनुसार आवश्यक वैज्ञानिक प्रक्रिया अपनाएर शवको अभिलेख सुरक्षित राख्ने काम भइरहेको छ।

प्रहरीका अनुसार गण्डक क्षेत्र हुँदै पश्चिम नवलपरासीसम्म पुगेका अधिकांश शव लामो समय पानी र लेदोमा रहेकाले प्रत्यक्ष रूपमा पहिचान गर्न नसकिने अवस्थामा छन्। त्यसैले डिएनए नमुना, शवको अभिलेख र अन्य पहिचानयोग्य विवरण सुरक्षित राखेर व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button