नेकपा सुदूरपश्चिमका सांसदले बाढी प्रभावितलाई १५ दिनको पारिश्रमिक दिने

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन्।
मुख्यमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप सांसदहरूको १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री भट्टले व्यक्तिगत रूपमा एक महिनाको पारिश्रमिक बाढी प्रभावितका लागि उपलब्ध गराउने बताएका छन्। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरिसकेको छ।
प्रदेश सरकारले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि थप दुई करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णयसमेत गरेको छ। प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ।
यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि बाढी प्रभावितका लागि आर्थिक सहयोग घोषणा गरेको थियो। कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक र अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्।
कांग्रेस सांसदहरूको पारिश्रमिकबाट तीन लाख ६० हजार ८३३ रुपैयाँ सहयोग जुट्ने जनाइएको छ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि देशका विभिन्न भागबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम जारी छ। संघीय तथा प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था र नागरिकस्तरबाट समेत सहयोग उपलब्ध भइरहेको छ।





