१७ भाद्र २०८३, बुधबार

चीन र किर्गिस्तानबीच स्थायी मित्रता सन्धि, सीकेयू रेलमार्गलाई ‘नयाँ युगको इस्पाती रेशममार्ग’ बनाउने लक्ष्य

ड्रागन मिडिया समाचार कक्ष

चीन र किर्गिस्तानले आपसी सम्बन्धलाई दीर्घकालीन रणनीतिक आधार प्रदान गर्दै स्थायी असल छिमेकी सम्बन्ध, मित्रता तथा सहयोगसम्बन्धी महत्वपूर्ण सन्धिमा हस्ताक्षर गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको किर्गिस्तान राजकीय भ्रमणका क्रममा दुई देशले राजनीतिक विश्वास, यातायात सम्पर्क, व्यापार, डिजिटल अर्थतन्त्र, ऊर्जा र प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका हुन्।

किर्गिस्तानको राजधानी बिस्केकमा सोमबार राष्ट्रपति सी र किर्गिस्तानी राष्ट्रपति सदिर जापारोभबीच भएको वार्तापछि दुवै नेताले नयाँ युगको चीन–किर्गिस्तान व्यापक रणनीतिक साझेदारीलाई उच्च गुणस्तरमा विकास गर्ने संयुक्त घोषणापत्र तथा स्थायी असल छिमेकी सम्बन्ध, मित्रता र सहयोगसम्बन्धी सन्धिमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति सीले दुवै देशले विकास रणनीतिबीच अझ प्रभावकारी समन्वय गर्दै शासन सञ्चालनका अनुभव आदानप्रदान गर्नुपर्ने र व्यावहारिक सहकार्यका उपलब्धि नागरिकसम्म प्रत्यक्ष पुग्ने गरी काम गर्नुपर्ने बताएका छन्। उनले असल छिमेकी सम्बन्ध र साझा समृद्धिमा आधारित चीन–किर्गिस्तान साझा भविष्य समुदाय निर्माणमा ठोस प्रगति गर्नुपर्नेमा जोड दिए।

सीका अनुसार पछिल्ला वर्षमा दुई राष्ट्राध्यक्षको रणनीतिक मार्गदर्शनमा चीन–किर्गिस्तान सम्बन्धले तीव्र प्रगति गरेको छ। व्यापार, पूर्वाधार, ऊर्जा, प्रविधि तथा जनस्तरीय सम्पर्कसम्म सहकार्य विस्तार हुँदै गएको छ।

वार्ताको प्रमुख विषय चीन–किर्गिस्तान–उज्बेकिस्तान रेलमार्ग रह्यो। राष्ट्रपति सीले यस रेलमार्गलाई क्षेत्रका जनताको विकास आकांक्षा बोकेको प्रमुख यातायात धमनीका रूपमा व्याख्या गर्दै उच्च गुणस्तरमा निर्माण सम्पन्न गर्नुपर्ने बताए।

राष्ट्रपति जापारोभले किर्गिस्तान रेलमार्ग निर्माणलाई सक्रिय रूपमा अघि बढाउन तयार रहेको बताउँदै यसलाई “नयाँ युगको इस्पाती रेशममार्ग” तथा चीन–किर्गिस्तान मित्रताको नयाँ सेतुका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

बेल्ट एन्ड रोड पहलअन्तर्गतको प्रमुख परियोजना मानिएको चीन–किर्गिस्तान–उज्बेकिस्तान रेलमार्गको औपचारिक निर्माण सन् २०२४ को अन्त्यमा शुरु भएको थियो। किर्गिस्तान खण्डको पूर्णस्तरीय निर्माण भने सन् २०२५ जुनबाट अघि बढाइएको हो।

रेलमार्ग चीनको सिन्च्याङस्थित काश्गरबाट शुरु भएर किर्गिस्तानको पहाडी भूभाग पार गर्दै उज्बेकिस्तान पुग्नेछ। यसले चीन र मध्य एसियाबीच नयाँ स्थल यातायात सम्पर्क स्थापना गर्नुका साथै मध्य एसियाली मुलुकलाई थप अन्तर्राष्ट्रिय व्यापारिक मार्गसँग जोड्ने अपेक्षा गरिएको छ।

हालसम्म किर्गिस्तान खण्डका अस्थायी पहुँच सडक र विद्युत आपूर्ति संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। निर्माण गर्नुपर्ने २९ सुरुङमध्ये २६ वटामा काम शुरु भएको छ भने एउटा सुरुङ वारपार खोलिसकिएको छ। प्रस्तावित ५० पुलमध्ये ४० र १०७ वटा सडक तथा रेल आधार खण्डमध्ये ८३ स्थानमा निर्माण शुरु भएको छ।

परियोजनाले स्थलरुद्ध मध्य एसियाको भौगोलिक अवस्थालाई व्यापारिक तथा यातायात अवसरमा परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ। रेलमार्गलाई किर्गिस्तानको आन्तरिक सडक, रसद केन्द्र, औद्योगिक क्षेत्र तथा प्रशोधन उद्योगसँग जोड्न सके स्थानीय रोजगारी, उद्योग तथा क्षेत्रीय आर्थिक विकासमा दीर्घकालीन प्रभाव पर्ने विश्लेषण गरिएको छ।

दुई देशबीच परम्परागत पूर्वाधार तथा व्यापारिक सहकार्यमात्र नभई डिजिटल व्यापार, सीमापार विद्युतीय वाणिज्य, नवीकरणीय ऊर्जा, हरित खनिज तथा कृत्रिम बुद्धिमत्ताजस्ता नयाँ क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने सहमति भएको छ।

राष्ट्रपति सीले दुई देशबीचको अन्तरसरकारी आर्थिक तथा व्यापारिक सहकार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यापारिक वस्तुको विविधीकरण गर्नुपर्ने बताएका छन्। उनले डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा र कृत्रिम बुद्धिमत्तालाई भविष्यको सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताए।

सीको भ्रमणका क्रममा विदेश नीति, सीमा सहकार्य, रेल यातायात, विद्युतीय वाणिज्य, भन्सार, सञ्चारमाध्यम, कृषि, विज्ञान, संस्कृति तथा मानव संसाधन विकासलगायत क्षेत्रमा ३० भन्दा बढी द्विपक्षीय दस्तावेजमा हस्ताक्षर भएको किर्गिस्तानको सरकारी समाचार संस्था काबारले जनाएको छ।

चीन र किर्गिस्तानले नवीकरणीय ऊर्जा, स्रोत पुनःप्रयोग, हरित खनिज तथा बेल्ट एन्ड रोड संयुक्त प्रयोगशाला विकासमा पनि सहकार्य विस्तार गर्ने भएका छन्। विज्ञान तथा प्रविधिमा आधारित सहकार्यलाई भविष्यको आर्थिक वृद्धिको नयाँ आधार बनाउने दुवै देशको लक्ष्य छ।

सुरक्षा क्षेत्रमा पनि दुई देशले आतंकवाद, पृथकतावाद, उग्रवाद, लागुऔषध तस्करी तथा अन्तरदेशीय अपराधविरुद्ध सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। संयुक्त राष्ट्रसंघ, शाङहाई सहयोग संगठन तथा चीन–मध्य एसिया संयन्त्रलगायत बहुपक्षीय मञ्चमा समन्वय थप सुदृढ गर्ने विषयमा पनि दुई नेताबीच सहमति भएको छ।

किर्गिस्तान स्वतन्त्र भएको ३५औँ वर्षमा भएको सीको राजकीय भ्रमणलाई दुवै देशले द्विपक्षीय सम्बन्धको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेका छन्। राष्ट्रपति जापारोभले चीनलाई किर्गिस्तानको निकट छिमेकी र भरपर्दो साझेदारका रूपमा उल्लेख गर्दै नयाँ सन्धिले दुई देशबीच दीर्घकालीन सम्बन्धका लागि अझ व्यापक सम्भावना खोल्ने बताएका छन्।

स्थायी असल छिमेकी सम्बन्धसम्बन्धी सन्धिले दुई देशबीचको राजनीतिक विश्वासलाई कानूनी तथा संस्थागत आधार प्रदान गरेको छ। यससँगै चीन–किर्गिस्तान सम्बन्ध पूर्वाधार र व्यापारमा केन्द्रित सहकार्यबाट डिजिटल अर्थतन्त्र, हरित ऊर्जा, प्रविधि, कृत्रिम बुद्धिमत्ता र क्षेत्रीय सम्पर्कसम्म फैलिएको बहुआयामिक रणनीतिक साझेदारीतर्फ अघि बढेको देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button